अनियन्त्रित जग्गा प्लटिङ र श्रमिकको अभावले झापामा धान खेती घट्दै 

अनियन्त्रित जग्गा प्लटिङ र श्रमिकको अभावले झापामा धान खेती घट्दै 

झापा–धान खेतीका लागि उर्वर मानिएको झापामा लगातार धान खेतीको जमिन घट्दै गएको छ। अनियन्त्रित जग्गा प्लटिङ र श्रमिकको अभाव धान खेती घट्नुका मुख्य कारण रहेको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले ९० हजार हेक्टर जग्गा धान खेतीयोग्य रहे पनि २१ हजार हेक्टरमा मात्र चैते धान रोपाइँ भएको जानकारी दिए। उनका अनुसार गत वर्ष असारे धान ८७ हजार ५०० हेक्टर मात्र लगाइयो। खेतीयोग्य जमिन निष्क्रिय रहनुको कारणमध्ये अधकल्चो प्रविधि समेत रहेको पाइएको छ।

केही वर्षअघि साना गह्रा तथा थोरै जमिन समेत उपयोग हुने गरेको थियो। तर, पछिल्लो समय त्यस्ता जमिन बाँझै हुने गरेको छ। प्रविधिप्रतिको आकर्षण र अपर्याप्ताका कारण त्यस्ता जग्गा बाँझिएको अगुवा किसानहरुको धारणा छ। ‘अहिले गोरु पाल्ने चलन हरायो, गोरु हुँदा साना गह्रा, फोक्टामा पनि केही न केही बाली लगाइन्थ्यो,’ कमल गाउँपालिका–६ का कृष्ण गौतमले भने, ‘अचेल ट्रयाक्टरको चलन आयो, गोरु पाल्नै छोडियो। सानो ठाउँमा ट्रयाक्टर नआउँदा खेती नै हुन छोडिसक्यो।’ यस्तै, श्रम शक्तिको अभावले पनि धान खेतीको विकल्प किसानले खोज्न थालेका छन्। ‘रोपाहार गाउँमा पाइँदैन, पोहोर पनि दक्षिणी क्षेत्रका केही किसानले मध्य असारमा धान खेती नगर्ने बरु यसको विकल्प अरु के हुन्छ भन्दै थिए,’ ज्ञान केन्द्र प्रमुख भट्टराई भन्छन्। केही स्थानमा धान रोप्ने मेशिनको प्रयोग पनि हुन थालेको छ। तर, मेशिनले मानवीय श्रमलाई विस्थापित गर्न नसकेको उनले बताए। त्यसैले किसानले पनि साना औजार तथा उपकरणको उपयोगमा जोड दिन सके मात्र धान खेतीलाई बिस्तार र व्यवसायिक बनाउन सम्भव हुने प्रमुख भट्टराईको भनाइ छ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: