प्रदेश १ को सरकारले आर्थिक वर्ष ०७६,७७ का ४३ अर्बको बजेट ल्याउँदै

प्रदेश १ को सरकारले आर्थिक वर्ष ०७६,७७ का ४३ अर्बको बजेट ल्याउँदै

विराटनगर—प्रदेश १ को सरकारले आर्थिक वर्ष ०७६,७७ का लागि करिब ४३ अर्ब बराबरको बजेट ल्याउँदै छ । आइतबार बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले करिब ४३ अर्ब बराबरको बजेट ल्याउन लागेका हुन् । गत वर्षको भन्दा करिब ७ अर्ब ठूलो बजेट ल्याउन लागिएको हो ।

चालु आर्थिक वर्षका लागि गएको असार १ गते प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख बजेट ल्याएको थियो । चालु बजेटमा पुँजीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख अर्थात ५१ दशमलव ५ प्रतिशत र चालुतर्फ १४ अर्ब ९२ करोड २८ लाख अर्थात ४१ दशमलव ५ प्रतिशत विनियोजन गरिएको थियो ।

उक्त बजेट अहिलेसम्म २५ प्रतिशत मात्र खर्च भएको छ । चालु बजेटमा प्रदेश १ का १४ जिल्लामा ५६ वटा प्रदेश निर्वाचन क्षेत्रका लागि सांसदले खर्च गर्न पाउने गरी २ करोडका दरले रकम दिइएको थियो । यस पटक यसले निरन्तरता पाउने भएको छ । आव ०७६÷७७ को बजेटमा भौतिक पूर्वाधारको क्षेत्रमा सरकारले कुल बजेटको ५० प्रतिशत विनियोजन गर्ने तयारी गरेको मन्त्री आङबोले बताए । भौतिक पूर्वाधार तर्फ सरकारले करिब २० अर्ब विनियोजन गर्ने तयारी गरेको छ । यसै गरी वन, पर्यटन र उद्योगका क्षेत्रमा करिब ४ अर्ब बजेट विनियोजन गरिएको छ । सामाजिक विकास तर्फ सरकारले करिब ५ अर्ब विनियोजन गरेको छ ।

प्रदेश सरकारले यस पटकको बजेटमा बुह वर्षीय आयोजनालाई प्राथमिकतामा राखेको छ । सडक, पुल, नदी नियन्त्रण, सिंचाइ र खानेपानी विशेष प्राथमिकतामा परेका छन् । यसै गरी प्रदेश सरकारले चालु वर्षको बजेटले सञ्चालनमा रहेका र केन्द्रीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण भएका योजनाका लागि आवश्यक रकम विनियोजन गरेको छ ।

प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण सुडक सुधार कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिएको छ । चालु आवमा यो कार्यक्रम अन्तर्गत ७० करोड रुपैयाँ विनियोजन गरिएकोमा आर्थिक वर्ष सकिन लाग्दा मात्र खर्च गर्न थालिएको छ । प्रदेश सरकारले बजेट केही नयाँ योजनालाई समेटेको छ । खानेपानी, सिंचाइ, आवास भवन निर्माण र सहरी विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको मन्त्री आङबोले बताए ।

प्रदेश सरकारले बजेटमा धरान–मुलघाट सुरुङमार्ग निर्माण, झापाको केचनाकवलबाट सगरमाथा सम्मको सडक र कोसीमा जल मार्ग अध्ययनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । लामो समयदेखि अलपत्र रहेको विराटनगर महानगरपालिकाको चक्रपथलाई निर्माण सम्पन्न गर्ने गरी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

विराटनगरमा प्रादेसिक सुविधा सम्पन्न बसपार्क निर्माण, रानी–टंकीसीनबारी सडक खण्डमा महानगरपालिकासँगको साझेदारीमा सुन्दर सडक बनाउने, निजी क्षेत्र र महानगरपालिकासँगको साझेदारीमा अन्तर्रा्ष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माण, महानगरभित्र व्यवस्थित वधशाला निर्माण, सिंघिया र केसलिया नदीको तटबन्धनका साथै सुन्दरता बनाउनका लागि विशेष बजेटको व्यवस्था गरिएको छ । विराटनगर १९ बैजनाथपुरमा रहेको अन्तर्रा्ष्ट्रिय रंगशालाको स्तरोन्नति गरिने भएको छ ।

विराटनगरमा बिपी, महमोहन, गिरिजाप्रसाद, मदन भण्डारी लगायतका नेताका नाममा पार्क निर्माण गर्नका लागि अध्ययन गर्न बजेट विनियोजन गरिएको छ । यसै गरी डीडीसीको क्षमता वृद्धि गरी प्रदेश १ लाई होलिडे मुक्त प्रदेश घोषणा गर्ने, इटहरीको पाउन्डर प्लान्टमा निजी साझेदारीका आधारमा प्रदेश सरकारले लगानी गर्ने भएको छ । अलौंचीको वयर हाउस, अदुवा प्रशोधन केन्द्रको स्थापना लगायतका लागि बजेट विनियोजन गरिएको छ ।

प्राङगारिक मल कारखाना स्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य गरिने भएको छ । प्रदेशमा रहेका १ सय कृषि फारमहरूलाई विशेष अनुदान, अलौची र धान सुकाउने मेसिन खरिदमा अनुदान, कृषि औजार उपकरणमा अनुदानको व्यवस्था बजेटले गरेको छ । प्रदेश सरकारले एउटा कृषि अनुसन्धान केन्द्र नमुनाका रूपमा स्थापना गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

सुनसरी मोरङ औद्योगिक क्षेत्रमा विशेष औद्योगिक क्षेत्रको स्थापना, साना तथा घरेलु उद्योगको प्रवर्द्धन औद्योगिक क्षेत्रको पूर्वाधार विकासका लागि बजेट छुट्याएको छ । प्रदेश सरकारले आउने वर्ष २७ लाख बिरुवा रोप्ने लक्ष्यका साथ बजेटको व्यवस्था गरेको छ । प्रदेशका १४ जिल्लामा रहेका अस्पतालहरूको स्तरोन्नति गर्न बजेटको व्यवस्था गरिएको छ भने धनकुटा जिल्लामा अत्याधुनिक सुविधा सम्पन्न सरकारी मेडिकल कलेज स्थापनाका लागि बजेट विनियोजन गरिएको छ ।(स्रोत–कान्तिपुर)

सम्बन्धित खवर