भीमराज अधिकारी, पथरी
गरिबी निवारण तथा सहकारी मन्त्रालयले जारी गरेको एकिकृत सुचना प्रणाली (कोपोमिस) को प्रयोग सम्बन्धी तालिम पथरीमा सुरु भएको छ । पथरीशनिश्चरे क्षेत्रमा रहेका ३४ वटा सहकारीका कर्मचारीले यो तालिममा सहभागिता जनाएका छन् ।
विहिवार मोरङको पथरीशनिश्चरे स्थीत बालमिकी माविको हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर तालिमको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष यम प्रसाद गुरागाँइले आउने दिनमा सहाकारीका लागि नगरमा छुट्टै शाखा खडा गर्ने कुरामा पहल गर्ने बताए । नगरमा हाल विभिन्न शाखाहरुका प्रमुख नहुँदा कामगर्न निकै कठिन भइरहेको गुरागाँइले बताए । नगरले सहकारी लगाएतका थुप्रै ऐनहरु निर्माण गर्न बाँकी नै रहेकाले आउदो हिउँदे अधिवेसन सम्ममा बाँकी रहेका ऐनहरु पनि निर्माण गरिने गुरागाँइले बताए । आगामी बजेटमा सहकारी र सहकारीका कर्मचारीहरुका लागि उन्नयन हुनेगरी बजेट व्यवस्थापन नगरले गर्ने पनि गुरागाँइले बताए ।
देशभरका सहकारीहरुको साझा वैँकका रुपमा रहेको राष्ट्रिय सहकारी वैंक उर्लाबारी शाखा प्रमुख मुना केसीले चाडैँ नै पथरीमा पनि सङ्कलन केन्द्र राखिने बताइन् । हाल उर्लाबारी सम्म दैनिक कारोबार गर्नका लागि पथरीका सहकारीहरुलाई कठिन रहेको छ । विचमा जङ्गलको बाटो र दुरीको हिसाबले ६ किमि टाडा सम्म रकम पु¥याउनका लागि निकै कठिन अवस्था रहेको छ । सोही समस्यालाई मध्यनजर गरेर पथरीमा सङ्कलन केन्द्र राखिने केसीले बताइन् । हाल पथरीबाट करिब १५, १६ वटा सहकारीले मात्रै सहकारी वैंक उर्लाबारीमा कारोबार गरिरहेका छन् ।
कार्यक्रममा सहकारी कर्मचारी संगठन उर्लाबारीका अध्यक्ष चक्र खड्का, जिल्ला वचत तथा ऋण सहकारी संघ उपाध्यक्ष विना राई, जिल्ला सहकारी संघ मोरङ सदस्य युवराज भट्टराई लगाएतले शुभकामना मन्तव्य राखेका थिए । भट्टराईले नगरमा जम्मा ६८ वटा सहकारीहरु रहेको बताए । जसमध्ये ४३ वटा वचत तथा ऋण सहकारी रहेको र बाँकी अन्य प्रकृतिका सहकारीहरु रहेको पनि भट्टराईले जानकारी दिए । भट्टराईले माेरङमा काेपाेमिसकाे तालिम पहिलाे पटक पथरीमा अायाेजना भएकाे समेत बताए ।
तालिमको आयोजना सहकारी कर्मचारी संगठन पथरी इलाकाको आयोजनामा संचालन भएको हो । विहिबार देखि सुरु भएको कोपोमिस प्रयोग सम्बन्धी अभिमुखिकरण तथा तालिम ३ दिन सम्म चल्ने संगठनका अध्यक्ष गणेश बाच्छना (राई)ले जानकारी दिएका छन् । राईका अनुसार नगरमा भएका सहकारीहरु मध्ये ५६ वटा सहकारीलाई पत्र पठाइएको भएता पनि तालिममा ३४ वटा सहकारी मात्रै समावेस भएका छन् । प्रत्येक सहकारीबाट एक/एक जना कर्मचारी तालिममा सहभागी रहेका छन् । तालिमको सहजीकरण पथरीमा रहेको मनकामना साकोसका व्यवस्थापक कल्याण बजगाँइले गरिरहेका छन् ।
के हो कोमोपिस (एकिकृत सुचना प्रणली) ?
कोपोमिस अर्थात एकिकृत सुचना प्रमाणी गरिबी निवारण तथा सहकारी मन्त्रालयले जारी गरेको सफ्टवेयर हो । यसमा सहकारीमा रहेका सम्पूर्ण सेयर सदस्यहरुको पूर्ण विवरण समावेस गरिएको हुन्छ । प्रत्येक सहकारीले आफ्नो मासिक रुपमा बुझउनुपर्ने विवरण समेत कोपोमिसको माध्यमबाट बुझाउनुपर्ने हुन्छ । यो सफ्टवेयर प्रयोगमा आएपछि एक व्यक्तिले एक पालिकामा भएका एकै प्रकृतिको एकवटा सहकारीमा मात्रै सेयर सदस्य रहन पाउनेछन् । भिन्न प्रकृतिका सहकारीमा भने दुई वा दुई भन्दा वढी पनि आवद्ध हुन सकिने छ । तर एकै प्रकृतिको अन्य पालिकामा भएको सहकारीमा भने सहभागी हुन सकिने छ ।
सरकारले अगाडी देखि नै एक व्यक्ति एक सहकारी भन्ने धारण ल्याइरहेको थियो । सो कुरालाई कार्यान्वयन गर्नका लागि नै कोपोमिस ल्याएको हो । २०७४ कार्तिकमा सहकारी ऐन सुरु भए देखि नै कोपोमिसको प्रयोगमा जोड दिइएको हो । सहकारी ऐनका अनुसार ५ कारोड भन्दा कम पुँजीका सहकारीले ३ वर्ष भित्रमा र ५ करोड भन्दा वढी पुँजी भएका सहकारीले १ वर्ष भित्रमा कोपोमिसको प्रयोग सुरु गरिसक्नुपर्ने जनाइएको छ ।