जिल्ला प्रहरी कार्यालय मोरङले आफ्ना काम कारवाहीलाई चार भागमा विभाजन ग¥यो

जिल्ला प्रहरी कार्यालय मोरङले आफ्ना काम कारवाहीलाई चार भागमा विभाजन ग¥यो

विराटनगर–जिल्ला प्रहरी कार्यालय मोरङले आफ्ना काम कारवाहीलाई चार भागमा विभाजन गरेर प्राथमिकतामा राखेको छ । एक साता अघि मोरङ प्रहरी प्रमुखका रुपमा सरुवा भएर आएका एसपी विश्व अधिकारीले जिल्ला प्रहरी कार्यालयले गर्ने काम कारवाहीलाई चार भागमा विभाजन गरेर प्राथमिकतामा राखेका हुन् ।

उनले काम कारवाहीलाई सामुदायिक सुरक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान, ट्राफिक व्यवस्थापन र नागरिक अव्यवस्थाको व्यवस्थापनसहित चार भागमा विभाजन गर्दै प्राथमिकतामा राखिएको जानकारी दिए । एसपी अधिकारीले मोरङ प्रहरी प्रमुख भएर आएपछि बिहीबार पत्रकार भेटघाट कार्यक्रम समेत राखेर आफ्ना प्राथमिकताका विषयमा जानकारी दिए ।

उनले सामुदायिक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् । ‘समुदायको सुरक्षा नगरे शान्ति सुरक्षको अवस्था कमजोर हुन्छ,’ अधिकारीले भने, ‘त्यही भएर प्रत्येक दिन मोरङमा ७ सय ९० जना प्रहरी समुदाय लक्षित सुरक्षाका लागि परिचालन गर्न थालिएको छ ।’ समाजमा अपराध नै हुन नदिने र यदि अपराध भई हाले प्रभावकारी अनुसन्धान गरेर त्यसलाई निचोडमा पु¥याउने प्रतिवद्धता उनले जनाए ।

सडक प्रयोगकर्ता र सवारी चालकलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै ट्राफिक व्यवस्थापनमा ध्यान दिइने अधिकारीले बताए । विभिन्न प्रकोप, डर र त्रासका कारण नागरिक जीवन अस्तव्यस्त रहेको बताउँदै उनले नागरिक अव्यवस्थाको व्यवस्थापन पनि आफ्नो पालाको प्राथमिकतामा परेको उल्लेख गरे । त्यस बाहेक प्रहरीलाई प्रविधियुक्त बनाउने, मानव अधिकारको संरक्षण, महिला तथा बालबालिका मैत्री वातावरण, सीमा क्षेत्रबाट हुने चोरी तस्करी र दुई नम्बरी धन्दा नियन्त्रण आफ्नो मुख्य दायित्व भएको एसपी अधिकारीले बताए ।

सम्बन्धित खवर