कानेपोखरीमा खेलकुदको मेला, दोस्रो अध्यक्ष कप पनि संगै

कानेपोखरीमा खेलकुदको मेला, दोस्रो अध्यक्ष कप पनि संगै

भीमराज अधिकारी, पथरी
मोरङको कानेपोखरीमा खेलकुदको मेला नै लाग्ने भएको छ । जेठ १५ देखि सुरु हुने खेलकुदमा गाउपालिकाका विभिन्न खेलहरु समेटिने भएका छन् ।

अहिले प्रत्येक वडामा खेलको पहिचान गर्ने काम भइरहेको छ । दोस्रो अध्यक्ष कप २०७६ पनि यहीँ समेटिएको छ । जेठ २५ गते देखि असार १ गते सम्म चल्ने खेलकुदका बारेमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइएको छ । अहिले पालिकाका ७ वटै वडाहरुबाट अध्यक्ष कपका लागि खेलाडी तयार गरिएको जनाइएको छ । वडा कपका लागि आवश्यक टाइसिट पनि तयार भएको छ । अध्यक्ष कपको विजेताले ८० हजार र उप विजेताले ५० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने खेलकुद समितिका संयोजक भूपाल श्रेष्ठले जानकारी दिए ।

यही समयमा भलिवल खेल पनि हुने तय भएको छ । भलिवल विजेताले ५१ हजार र उप विजेताले ३१ हजार नगद सहित ट्रफि, प्रमाण पत्र र मेडल पाउने भएका छन् । यस्तै क्रिकेट, व्याडमिन्टन, एथ्लेटिक्स, म्याराथुन, बुद्धिचाल (चेस), महिला फुडबल लगाएतका खेलहरु हुने जनाइएको छ । यी सम्पूर्ण खेलहरुका लागि प्रत्येक वडामा खेलाडी तथा टिमको तयारी भइरहेको छ । लामो समय देखि स्थानीय स्तरमा रेफ्रि (एम्पायर)को अभाव भइरहेका कारण तालिमको व्यवस्था गरिएको श्रेष्ठले बताए । उनका अनुसार २१ जनालाई रेफ्रिको तालिम प्रदान गरिने छ ।

खेलकुद कार्यक्रमका लागि पालिकाले १५ लाख रुपैया विनियोजन गरेको थियो । सो मध्ये हाल रहेको १२ लाख ६५ हजार बराबरको कार्यक्रम सम्झौता गरिएको छ । अध्यक्ष कपका लागि यो बाहेक ४ लाख रुपैया विनियोजन भएको पनि श्रेष्ठले बताए ।

सोही कार्यक्रमका खेलाडीहरुलाई केही खेलकुद सामग्री पनि वितरण गरिएको छ । खेलकुद समितिका संयोजक तथा बि एण्ड बि कन्ट्रकसनका मालिक श्रेष्ठले खेलाडीहरुलाई जर्सी पनि प्रदान गर्नुभएको छ । सोही विषयलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पालिका प्रमुख तारा बहादुर काफ्लेले खेलका लागि आवश्यक पर्ने सहयोग गरिने बताए । आफ्नो पालिकामा खेलकुदका माध्यमबाट पनि युवाहरुको जीवनस्तर उकास्न सकिने काफ्लेको भनाइ थियो । अध्यक्ष कपका लागि विनियोजन भएको रकमबाट मितेरी युवा क्लवले काम गर्ने सम्झौता गरेको जनाइएको छ ।


सम्बन्धित खवर