भीमराज अधिकारी, पथरी
मोरङको एक सामुदायिक वनमा निर्वाद रुपमा डोजर चलाएर पोखरी निर्माण भइरहेको छ । पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा पर्ने शान्ति सामुदायिक वन क्षेत्रमा डोजरको प्रयोग गरिएको पाइएको हो ।
शान्ति सामुदायिक वनले पर्यापर्यटनको विकासका लागि शान्ति भुल्के सिमसार क्षेत्र पनि निर्माण गरिरहेको छ । सो सिमसारको गुरु योजना निर्माण भएकाले सो गुरु योजना अनुसार नै काम भइरहेको शान्ति सामुदायिक वन उपभोक्ता समुहकी सचिव मेनुका राईले बताइन् । राई शान्ति भुल्के सिमसार संरक्षण तथा विकास समितिकी संयोजक समेत हुन् । वनमा चलिरहेको डोजरका विषयमा राईले आफुहरुले डिभिजन वन लगाएतका कुनैपनि निकायमा अनुमति लिनु नपर्ने बताइन् । राईले भनिन् “हामीले हाम्रो गुरु योजना अनुसार काम गरिरहेका छौँ । हामीले वार्षिक साधारण सभाले सबैकुरा पास गरेका हुन्छौँ सोही आधारमा काम गर्ने हो । हामीले यसरी सबै कामका लागि जिल्ला धाइरहनु पर्दैन ।” उनले अझै थपिन “तपाइलाई थाहै छैन् होला सामुदायिक वनलाई असिमित अधिकार दिएको हुन्छ । हामीलाई काम गर्ने थुप्रै अधिकारहरु दिएको छ । यो डोजर चलाउनका लागि पनि अनुमति लिनु नपर्ने भएकाले समुहको योजना अनुसार नै चलाइएको राईले बताइन् ।”
यसरी वन क्षेत्रमा डोजर संचालनका लागि अनिवार्य रुपमा अनुमति लिनु पर्दछ । वन क्षेत्रमा विकासका नाममा कुनैपनि कंक्रिटका भौतिक संरचना पनि निर्माण गर्न पाइदैन । यस विषयमा मोरङ वन डिभिजनल अधिकृत विशाल घिमिरेले वनमा डोजर चलाउनका लागि अनिवार्य रुपमा अनुमति लिनु पर्ने बताए । घिमिरेले प्रदेश दैनिकलाई भने “वनमा डोजर चलाउन अनिवार्य अनुमति लिनु पर्दछ । शान्ति सामुदायिकको पनि त्यो प्रकृयामा रहेको छ । त्यहाँ मानिसले मात्रै सम्भव नहुने भएकाले मेसिन प्रयोग गर्नुभएको हो । अनुमति विना वनमा कंक्रिटको भवन निर्माण गर्न पनि मिल्दैन् ।”
अधिकृत घिमिरेले यसो भनिरहँदा वनको क्षेत्रमा अनुमति विना मेसिनरी औजार प्रयोग गर्न पाइदैन । तर सो संरक्षण तथा व्यवस्थापन समितिकै संयोजकले अनुमति नै लिनु पर्दैन भन्दा कता कता कुरो नमिलेको पाइयो । एका तर्फ समितिको मुख्य जिम्मेवार व्याक्तिले अनुमति लिनु नपर्ने भन्दै धमाधम वनमा डोजर चलाउनु अनि अधिकृतले अनुमति विना काम नै गर्न पाइदैन भन्नु तलमेल नै खाँदैन ।
पानी सुक्दै गएका कारण पानीको संरक्षणका लागि पोखरी निर्माण गरिएको राईले बताइन् । पानीको मुहानहरु पनि सुक्दै जाने र मासिने भएकाले पनि पोखरीको आवश्यकता भएको राईको भनाइ छ । राईका अनुसार यस आर्थिक वर्षमा काम सक्ने गरी भू–संरक्षण तथा जलाधार संरक्षण केन्द्रले ५ लाख रुपैया उपलब्ध गराएका कारण काम थालिएको हो ।
हाल निर्माण भएको पोखरी विचबाट नै पथरी खानेपानीका २ वटा पाइप विछ्याइएको छ । पथरी खानेपानीको मुहान पनि शान्ति सामुदायिक वनमा नै पर्दछ । सिमसारमा निर्माणाधिन माथिल्लो पोखरीमा पानीको पाइप समेत फुटेको छ । पाइप फुटेर जोडिएको ठाउँबाट पानी प्रसस्तै बाहिर आएको छ । सोे फुटेको ठाउँबाट पोखरीको फोहोर पानी पाइपबाट खानेपानीको ट्याङ्कीमा आउने सम्भावना प्रवल देखिन्छ । अर्को तर्फ पोखरी निर्माण गरिएको स्थानमा भएका रुख विरुवाहरु पनि नास भएका छन् । सो विरुवाहरु अन्य स्थानमा थिनिङ पुनिक कार्यक्रममा रोपिने राईले बताइन् ।