झापा–नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडेनडेथमा हराउँदै शनिबार काँकडभिट्टामा आयोजित मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सडेनडेथमा मानबहादुर परियारको प्रहार आर्मीका गोलरक्षक विकेश कुथूले छेक्न नसक्दा पुलिसले उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले १० लाख र उपविजेता आर्मीले पाँच लाख रुपैयाँ हात पारेका छन् । नेपालगन्जमा दुई साताअघि सम्पन्न आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलको स्वर्ण भिडन्तमा आर्मीले पुलिसलाई हराएको थियो । पुलिसले काँकडभिट्टामा आर्मीसँग नेपालगन्जमा बेहोरेको हारको बदला लियो ।
प्रतिस्पर्धात्मक बनेको फाइनलको निर्धा्रित समयमा दुवै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा दुवै टोलीबाट ३–३ गोल भए । टाइब्रेकरमा समेत उपाधि छिनोफानो नहुँदा खेल सडेनडेथमा पुग्यो । सडेनडेथमा आर्मीका विकास तामाङको प्रहार अकासिएको थियो । पुलिसका मानबादुरको प्रहार पोस्टमा लागेको थियो । क्रसबारबाट रिबाउन्ड भएकोे बल गोलरक्षक कुथूको शरीरमा ठोक्किँदै गोलमा परिणत भयो ।
टाइब्रेकरमा पुलिसका सुमन लामा, कप्तान भरत शाह र रेजिन सुब्बाले गोल गरेका थिए । अजित भण्डारी र आशिष गुरुङको प्रहार आर्मीका गोलरक्षक कुथूले बचाए । आर्मीका दीपकुमार लामा, टेकबहादुर बुढाथोकी र सन्तोष तामाङ गोल गर्न सफल भए । नवयुग श्रेष्ठको प्रहार अकासिएको थियो । जर्ज्प्रिन्स कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाए । पुलिसका गोलरक्षक खड्का म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताका सबै उत्कृष्ट खेलाडीले जनही २१ हजार रुपैयाँ पाएका छन् ।
मेचीनगर गोल्डकपका उत्कृष्टहरु
उदियमान खेलाडी – एन्जल गुरुङ (काकँडभिट्टा)
उत्कृष्ट गोलरक्षक – शत्रुघन चौधरी (पुलिस)
उत्कृष्ट डिफेन्डर – आशिष गुरुङ (पुलिस)
उत्कृष्ट मिडफिल्डर – सेसेहाङ आङदेम्वे (आर्मी)
उत्कृष्ट फरवार्ड – नवयुग श्रेष्ठ (आर्मी)
उत्कृष्ट प्रशिक्षक – अनन्तराज थापा (पुलिस)