झुम्का कारागार सुधार गृहका रूपमा परिचित बन्दै

झुम्का कारागार सुधार गृहका रूपमा परिचित बन्दै

इटहरी, सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का कारागार पछिल्लो समय सुधार गृहका रूपमा परिचित बन्दै गएको छ । नेपालको दोस्रो ठूलो कारागार भए पनि केही समय अघिसम्म कारागारको अवस्था दयनीय थियो ।

पछिल्लो समय यसको अवस्थामा भने सुधार आएको छ । कारागारमा कैदीबन्दी कोही पुस्तकालयमा पत्रपत्रिका पुस्तक पढ्दै गरेका भेटिन्छन् । कोही फर्निचरको काम त कतिपय भने मुढा बुन्दै गरेका हुन्छन् । कोही भने संगीतमा रमाइरहेका भेटिए ।

यस्तै कतिपय अनौपचारिक कक्षामा पढिरहेका हुन्छन् । अधिकांश कैदी कारागारमा आएपछि आफूलाई निकै सुधार गरेको बताउँछन् । कारागारमा सञ्चालित कर्मवाद ब्यान्डका सदस्यले कारागार आएर धेरै कुरा सिक्न पाएको बताए । ‘गल्ती महसुस गरिरहेको छु । जेल जिवन छुटेपछि अवष्य राम्रो काम गर्नेछु,’ उनले भने, ‘जेल आएको भन्दा पनि सुधार केन्द्रमा छु जस्तो लाग्छ ।’

कारागार आउनुअघि उनमा संगीतको कुनै रुचि थिएन । यहाँ आएपछि भने संगीतमा रमाउँदै आएका छन् । संगीतसँगै नृत्यमा रुचि भएकाहरू नृत्यको अभ्यास गर्दै आएका भेटिन्छन् । यहाँको आन्तरिक प्रशासनले समेत नेपालीको विशेष चाडपर्वमा सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएको छ । २०६६ सालमा स्थापना भएको कारागारमा १ हजार ६ सय ५० कैदी राख्ने क्षमता छ ।

हाल १ हजार ७ सय ७९ कैदी राखिएका छन् । जबरजस्ती करणीका ४ सय ५२ जना, कर्तव्य ज्यान मुद्दाका ४ सय १४ जना र लागूऔषध मुद्दाका ३ सय ४९ कैदीबन्दी छन् । कारागारलाई सुधार गृहका रूपमा परिवर्तन गर्न कैदीबन्दीका लागि फुटबल खेलमैदान, भलिबल ब्याडमिन्टन कोर्ट, टेबलटेनिस, पुलहाउस, लुडो, क्यारामबोर्ड साथै कक्षा १० सम्म अनौपचारिक विद्यालय सञ्चालन, सीपमूलक तालिमको समेत व्यवस्था छ ।

स्वस्थ रहनका लागि व्यायाम स्थलको समेत सुविधा छ । जुलोजी विषयमा स्नात्तकोत्तर पूरा गरेका धिरेन्द्र कर्ण कारागारमा सञ्चालित अनौपचारिक विद्यालयमा पढाउँदै आएका छन् । कैदीलाई पढाउन पाउँदा निकै खुशी लाग्ने उनले बताए । कारागारमा आन्तरिक स्रोतबाट कैदीका लागि निःशुल्क पढ्ने व्यवस्था गरिएको छ । हाल अनौपचारिक विद्यालयमा ५३ जनाले अंग्रेजी भाषा र २४ जनाले प्रौढ शिक्षा लिइरहेका छन् । यहाँ ६ शिक्षकले पढाउदै आएका छन् ।

निजी रूपममा शुल्क तिरेर भने चाइनिज, कोरियन, जापानी भाषासमेत सिक्न सक्ने व्यवस्था छ । झुम्का कारागार १ नम्बर ब्लकका चौकीदार प्रेम लावतीले अस्पताल टाढा भएका कारण समयमा अस्पताल र्पुयाउन नसक्दा कतिपय कैदीको ज्यान जाने गरेको बताए । ‘कारागारमा हेल्थ असिस्टेन्टको दरबन्दी भए पनि सामान्य अहेबकोभरमा मात्र चलिरहेको छ,’ उनले भने । कारागारमा विद्यालय दर्ता नहुँदा कयौ कैदी शिक्षाबाट वञ्चित भएको बताउँदै उनले भने, ‘विद्यालय दर्ता भएको खण्डमा धेरै कैदीले शिक्षा लिन पाउने थिए ।’

कारागार प्रमुख जेलर कमल घिमिरेले कैदीका लागि सीपमूलक तालिमलाई प्राथमिकता दिएको बताए । ‘व्यावसायिक सीपका लागि कारागारको प्रशासकको हैसियतले विशेष पहल गरेको छु,’ उनले भने, ‘मनमोहन प्राविधिक स्कुलसँग सहकार्य गरेर हाउस वायरिङ र प्लम्बरको तालिम प्रदान गरिसकेका छौं ।’ हाल थप ४० जनालाई तीन महिने तालिम सञ्चालन भइरहेको छ । शिक्षा, सीपमूलक तालिम र कामको विषयलाई थप व्यवस्थित गर्नका लागि आन्तरिक प्रशासनका नेतृत्वसँग छलफल भइरहेकोउनले बताए ।
सुम्निमा चाम्लिङ (कान्तिपुर)      

सम्बन्धित खवर