नेपालको सिंगापुर माथि २ सय १७ रनको शानदार जित

नेपालको सिंगापुर माथि २ सय १७ रनको शानदार जित

आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेलमा सिंगापुरमाथि २ सय १७ रनको विशाल जित दर्ता गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१ ओभरमा ६५ रनमै अलआउट भएको हो ।

२ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङ सामु ३१ ओभरमा अल आउट हुँदै ६५ रनमा समेटियो । उसका लागि ईशान सावनीले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । ईशानलाई ३० ओभरको पाँचौ बलमा सुर्य तामाङले भीम सार्कीबाट क्याच आउट गराए । त्यस्तै साई भेनुगोपालले ४५ बलमा ३ चौका सहित १८ रन जोडे । अर्नव चबरिया २,अमन देसाईं १,प्रमेश सिंहवी ७,श्रीदेब १, रनमा आउट भए । सिंगापुरका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि पवन सरार्फले ६ ओभरमा ५ मेडन सहित ५ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ८ ओभरमा ३ मेडन सहित १७ रन खर्चेर २ विकेट लिए । त्यस्तै सुर्य तामाङ २ र राशिद खानको नाममा १ विकेट रह्यो ।

त्यस अघि कप्तान राहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ४६ ओभरमा अलआउट हुनुअघि २ सय ८२ रन जोड्यो । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले सिंगापुरलाई जितका लागि २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका कप्तान रोहित कुमार पौडेल ९५ रन जोड्दै क्याचआउट भए । रोहितले १ सय ५ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । उनी ४६ औं ओभरको पहिलो बलमा अथर्व गुनेको बलमा भेनुगोपालको हातबाट क्याचआउट भएका हुन् ।

रोहित आउट भएकै ओभरमा नेपालले थप २ विकेट गुमाउँदै अलआउट भएको हो । कमलसिंह ऐरी १८ बलमा १ चौका र ३ छक्कासहित ३१ रन जोड्दै कट बिहाईन्ड भए । सूर्य तामाङ पहिलो बलमै विकेट किपरको हातबाट समातिए ।

शीर्षक्रमले अपेक्षित प्रदर्शन गर्न नसक्दा सातौं विकेटका लागि रोहित र राशिद खानले ७७ रनको आक्रमक साझेदारी गर्दै नेपाललाई विशाल योगफल सम्म लगे । ४१ औं ओभरको चौथो बलमा रोहितसँग रनको तालमेल गर्न नसक्दा राशिद ४८ रन जोड्दै रनआउट भए । राशिदले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

ओपनर पवन सरार्फ अर्धशतक पुरा गर्न ३ रनले चुके । सरार्फले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । सरार्फलाई १९ ओभरको तेस्रो बलमा अथर्व गुनेले सुदर्शनबाट क्याच गराए ।

नेपालले पहिलो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा रित गौतमलाई गुमाएको थियो । रितलाई राहुल शर्माले १ रनमा विकेटकीपर अमन देसाईबाट क्याच गराए । दोस्रो विकेटका रुपमा आशिफ शेखलाई राहुललेनै देसाईबाट ८ रनमा क्याच गराउदै पेभिलिएन फर्काए ।

सुरुवाती दुई विकेट सस्तैमा गुमाएको नेपालले तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेलले र पवन सरार्फले ९० रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए । लगत्तै २० ओभरको दोस्रो बलमा सन्दीप जोरा डक आउट भए ।

भिम सार्कीले आक्रमक रुपमा ब्याटिङगर्दै १९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा आउट भए । कुशल मल्ल ७ बलमा समान १ छक्का र चौका प्रहार गर्दै १० रनमा पेभिलिएन फर्के । सिंगापुरका लागि अथर्व गुनेले ४, राहुल शर्मा र विनित मेहराले समान २(२ तथा सिंघवीले १ विकेट लिए ।

नेपालले दोस्रो खेल शनिवार यूएईसँग खेल्ने छ । नेपाल सहित आयोजक मलेसिया,यूएई,ओमान,कुवेत र सिंगापुरले प्रतिसप्रर्धा गरि रहेको प्रतियोगितामा शीर्ष स्थानमा हुने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने एक दिवसिय विश्वकप खेल्ने पाउने छ ।

सम्बन्धित खवर