आसराले थाल्दैछ लागूऔषध दुर्व्यसनीको उपचार

आसराले थाल्दैछ लागूऔषध दुर्व्यसनीको उपचार

धरान, प्रहरीको तथ्याङ्क अनुसार काठमाडौं जिल्लापछि सबैभन्दा बढी लागूऔषध प्रयोगकर्ता भएको दोस्रो जिल्ला सुनसरी हो ।

लागूऔषध प्रयोगकर्ताको उच्च जोखिम रहेको क्षेत्र सुनसरीलाई दुव्र्यसनीमूक्त बनाउन धरान–६ मा ‘आसरा सुधार गृह’ निर्माण भएको छ । अब लागूऔषध दुव्र्यसनमा फसेका रोगीहरूको उपचार प्रक्रिया पनि थालिसकेको छ । अहिले भर्नाको चरणमा छ । आसरामा एक पटकमा एक सय दुव्र्यसनीलाई उपचार दिने गरी तीन तले भवन निर्माण भएको छ ।

काठमाडौंमा रानबारीमा आसरा सञ्चालनमा छ । त्यसैको शाखाको रूपमा धरान रहेको छ । ७ कठ्ठा साढे १८ धुर जग्गामा फैलिएको आसरा चाँडै नै सञ्चालनमा आउने आसरा सुधार केन्द्र भवन निर्माण समितिका अध्यक्ष मनोजकुमार मेन्याङ्बोले बुधबारको पत्रकार सम्मेलनमा बताए । उनका अनुसार फागुन २६ गतेदेखि भर्ना अभियान थालिएको छ ।

आसरा पानबारी शाखाको सुरपरिवेक्षण भने नेपाल प्रहरी श्रीमती सङ्घले गर्ने छ । सङ्घ २०५५ सालमा स्थापित भएको हो । सङ्घले रानीबारीमा पनि आसरा केन्द्र सञ्चालनमा ल्याएको छ । जहाँ एक व्यक्ति बराबर १६ हजार रुपैयाँ मासिक शुल्क लिएर सुधार गृहमा राख्ने गरिएको छ । तर, धरानको हकमा भने १५ हजार रुपैयाँ मासिक लिएर राखिने व्यवस्था गरिन लागिएको आसरा सुधार केन्द्र धरानका व्यवस्थापक रामजी कट्वालले जानकारी दिए ।

लागूऔषध दुव्र्यसनको जर्जर अवस्थालाई चीर्नका लागि केन्द्र स्थापना भएको हो । निर्माण समितिका सचिव सरोज श्रेष्ठका अनुसार यसको कुल लागत २ करोड ३७ लाख रुपैयाँ रहेको छ । जनसहभागिताअनुसार भवन निर्माण गरिएको हो । जसमा प्रदेश प्रहरी इकाइ कार्यालय धरानका एसपी शरदकुमार खत्रीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन भएको छ ।

समितिमा निर्माण समितिका तर्फबाट मानार्थ सदस्यसहित ५ जनालाई राखिएको छ । भवनमा आवास कक्ष, बैठक कक्ष, कार्यालय कक्षहरू, जीम, योग तथा कक्षा सञ्चालनका लागि हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डायनिङ हललगायतका सुविधा छन् । सुधार केन्द्रले ३३७ जनालाई संस्थापक आजीवन सदस्य प्रदान गरेको छ । आजीवन एक सदस्यले २५ हजार रुपैयाँमाथि सहयोग गरेका छन् ।

प्रहरीको अनुसन्धानमा २७२ जना आपराधिक गतिविधिमा लागेका युवाहरूमध्ये १ सय ११ जना लागूऔषधको दुव्र्यसनमा फसेको देखाएको छ । यही कारण पनि अपराध न्यूनीकरण गर्न केन्द्र स्थापना गरिएको हो । चैत्र १ गते आइजीपी सवेन्द्र खनालले केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ । सुधार गृहमा प्रवेश गर्नका लागि आसराको मापदण्ड पूरा गरेको हकमा मात्रै लागू गरिने व्यवस्थापक तथा इन्स्पेक्टर रामजी कट्वालले जानकारी दिए ।
ब्लाष्ट खबरबाट

सम्बन्धित खवर