सुनौलो विहानीमा अधिकारी

सुनौलो विहानीमा अधिकारी

पथरी, मोरङको पथरीशनिश्चरे ५ र ६ अर्थात साविकको हसन्दहमा रहेको सुनौलो विहानी युवा क्लवको अध्यक्षमा भिमराज अधिकारी सर्वसहमत चयन भएका छन् । शनिवार भएको पूर्णकालिन साधारण सभाले अधिकारीको नेतृत्वमा १० सदसीय कार्यसमितिको चयन गरेको हो । १ जना महिला सदस्य मनोनयन हुन बाकीँ रहेको छ ।

कार्यसमितिको उपाध्यक्षमा शेषराज भण्डारी, सचिव सुमन श्रेष्ठ, सह–सचिव अनिशा खड्का, कोषाध्यक्ष किरण पास्वान, सदस्यमा क्रमशः वेदनाथ खतिवडा, अभिशेक भट्टराई, नगेन्द्र दाहाल, राजेश तिम्सिना, सुसन कार्की रहेका छन् । बाकीँ रहेको एकजना महिला सदस्य पनि आउने बैठकमा मनोनयन गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।

२०६६ सालमा स्थापना भएको सुनौलोले स्थापना काल देखि नै प्लान नेपालको सहयोगमा छात्रवृति वितरण, प्रत्याभूत बालबालिकालाई शैक्षिक सामग्री वितरण लगाएतका कामहरु गर्दै आएको थियो । गत वर्षपनि हसन्दह स्वास्थ्य चौकीको रंग रोगन लगाएत भवन मर्मतको काम पनि सुनौलोले नै गरेको थियो । समाजमा निकै सामाजिक काम गर्दै आएको सुनौलोले आफ्नो नामा रहेको जग्गामा आगामी दिनमा चाडैँ नै भवन निर्माणकोे काम सुरु गर्ने नव निर्वाचित अध्यक्ष अधिकारीले बताए । आफ्नो कार्यकालमा सुनौलोको स्वर्ण युगको रुपमा रहन सक्नेगरी काम गरिने अधिकारीले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा समितिका सचिव गुणराज थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदनका अनुसार क्लवले प्लानसंगको सहकार्यमा ९ लाख ४७ हजार ४९१ रुपैँया बराबरको कार्यक्रम गरेको छ । सो कार्यक्रमहरुबाट संस्थाले ५७ हजार ७ सय रुपैँया बचत गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

सुनौलोको स्थापना काल देखि नै समाजमा निकै राम्रो छाप छोडेकाले आगामी दिनमा पनि यसले सदैव समाज सेवामा निरन्तरता दिन सभाका प्रमुख अतिथि तथा सुनौलोका संस्थापक अध्यक्ष अर्जुन घिमिरेले शुभकामना दिए । कार्यक्रममा निवर्तमान अध्यक्ष गोविन्द लिम्बू, वडा सदस्य चेतेन्द्र खड्का, समाजसेवी इश्वर बहादुर थापा लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम आयोजक संस्थाका तत्कालिन अध्यक्ष जोग बहादुर धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर