अर्जे्न्टिनी राष्ट्रिय फुटबल टोलीका फरवार्ड गोन्जालो हिगुआइनले अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।
चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आएका ३१ वर्षीय हिगुआइनले क्लब फुटबलमा ध्यान दिने भन्दै राष्ट्रिय टोलीबाट सन्न्यास लिएका हुन् । हिगुआइन यसै जनवरीमा युभेन्टसबाट लोनमा चेल्सी पुगका हुन् । उनले राष्ट्रिय टोलीबाट ७५ खेल खेल्दै ३१ गोल गरेका छन् । तर सन् २०१८ को फिफा विश्वकपपछि उनले टोलीमा स्थान बनाउन सकेका थिएनन् ।
हिगुआइनले क्लबमा लक्षित हुने हिसाबले राष्ट्रिय टोलीबाट बिदा लिएको बताए । ‘मैले यो निर्णय लिएर केहि समय परिवार र मेरो छोरीसँग बिताउन चाहन्छु । मैले राष्ट्रको लागि गर्न सक्ने योगदान गरिसके जस्तो लाग्छ,’ उनले भने, ‘ मेरो ध्यान अहिले पूर्ण रुपमा चेल्सीप्रति केन्द्रित छ । प्रिमियर लिग साँच्चै नै रमाइलो छ । म यस प्रतिस्पर्धात्मक लिगमा रम्न चाहन्छु ।’
राष्ट्रिय टोलीबाट खेल्दा हिगुआइनले तीन महत्त्वपूर्ण प्रतियोगिताको फाइनल खेलेका थिए । उनले सन् २०१४ को विश्वकप फुटबल तथा सन् २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा प्रतिस्पर्धा गरे । हिगुआइन राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनलाई लिएर सधैं आलोचित हुँदै आएका छन् ।
विशेषत उनले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीविरुद्ध नियमित ९० मिनेट समयमा गोल गर्ने अवसर चुकाउँदा अर्जे्न्टिना जितबाट बन्चित भएको थियो । त्यसपछि सन् २०१५ को कोपा अमेरिका फाइनलमा पनि नियमित समयमा गोल गर्ने अवसर चुकाएका हिगुआइनले टाइब्रेकरमा पनि पेनाल्टी चुकाएका थिए ।
हिगुआइनले भने आफूले राष्ट्रिय टोलीका लागि सधैं राम्रो खेल्ने प्रयास गरेको बताए । ‘सबैले मैले गरेको गल्ती देख्दा सफलता भने बिर्सन खोज्छन् । मलाई लाग्छ सबैले सन् २०१४ विश्वकपको क्वाटरफाइनलमा बेल्जियम विरुद्ध गोल हेर्नु भयो होला,’ उनले थपे, ‘ जब कसैको आलोचना हुन्छ, त्यसले खेलाडीसँगै उसको परिवारलाई पनि असर गर्छ । मैले राष्ट्रिय टोलीका लागि सक्दो प्रयास गरे । हामीले उपाधि जित्ने लक्ष्य हासिल गर्न सकेनौं तर यसको मतलब हामी सफल नभएको भने हैन ।’ (एजेन्सी)