मोरङ, मोरङको पथरीशनिश्चरे नगरपालिकाले गरेका काम प्रति असन्तुष्टि जनाउदै नेपाली काङ्ग्रेसको नगर अनुगमन समिति र काङ्ग्रेस नगर समितिले संयुक्त रुपमा १२ बुदे ज्ञापनपत्र बुझाएको छ । सोमबार नगरका काङ्ग्रेस नेता तथा कार्यकर्ता ज्ञापनपत्र बोकेर नगरपालिका पुगेका थिए । नगरमा मेयर, उमयेर नै नभेटेपछि उनिहरुले प्रमुख प्रशासकीय अधिकृत मार्फत नगर प्रमुखलाई ज्ञपनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै अधिकृत सुर्यप्रसाद गौतमले नगरप्रमुख समक्ष ज्ञापनपत्र पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसमा समेटिएका बुँदाहरुमा बिकाश निर्माणमा नेकपा निकटलाई नदिन र उपभोक्ता समिति मार्फत मात्रै काम गराउन माग गरिएको छ । जनप्रतिनिधीले आफ्ना कार्यकर्ता पोस्न बिकास निर्माणका कार्य ठेकेदार मार्फत गरेको र कमिशन असुलेको आरोप काग्रेसले लगाएको छ ।
कर्मचारी नियुक्ती एकलौटी रुपमा गरिएको भन्दै सर्बपक्षिय रुपमा नगरमा कर्मचारी नियुक्ती गर्न पनि कांग्रेसको माग छ । नगरबाट फोहर मैलाका लागि रकम संकलन गरे पनि टोल र गाउँबाट फोहर संकलन नभएको भन्दै कांग्रेसले त्यसका लागि संकलन गरिने रकम जनतासँग नलिन माग गरेको छ । नगरमा रहेको अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या तत्काल सम्बोधन गरि धनिपुर्जा बितरणको पनि माग कांग्रेसले गरेको छ । ज्ञापनपत्र मार्फत नगर तथा वडा कार्यालय अपांग मैत्री भवन निर्माण गर्न माग गरेको छ ।
नगरपालिका भवन निर्माणमा बिबाद भएको भन्दै नगरको पहिचानसहित तत्काल नगरपालिकाको भवन निर्माण गर्न पनि कांग्रेसले माग गरेको छ । नगरपालिकाले नगरबासीसँग चर्को कर संकलन गरेको भन्दै कर व्यावस्थापन वा कर खारेजीको माग गरेको छ । नगरले मेलमिलापका नाममा निवेदन बापत लिने १ सय रुपैँया खारेजी गर्नुपर्ने, नगरका खोला दोहन गर्ने कार्य तुरुन्त बन्द गर्नुपर्ने, आगलागी नियन्त्रण गर्न तुरुन्त दमकल खरिद गर्नुपर्ने पनि कांग्रेसले माग गरेको छ । ज्ञापनपत्रमा काग्रेस नगर सभापति टेक बहादुर थापा र कांग्रेसको नगर अनुगमन संयोजक धनकुमार तामाङले हस्ताक्षर गरेका छन् ।
नगर समितिले नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगाएतले आफ्नो मनोमानी तरिकाले चलेको आरोप समेत लगाएको छ । विकासका हरेक काममा पारदर्शी तरिकाले चल्न अनुगमन संयोजक तामाङले सुझएका छन् । नगरमा हुने हरेक काममा सेटिङ मिलाएर काम गर्ने चलन बन्ध हुनुपर्ने तामाङको माग थियो ।
निर्वाचन भएको यतिका समय वित्दापनि नगरमा विस्तारै काम हुन्छ भनेर बसेको तर अझैपनि जनप्रतिनिधिले काम गर्न नसकेका कारण पहिलो चरणका रुपमा यो ज्ञापनपत्र बुझाएको सभापति टेक बहहादुर थापाले जनाएका छन् । यदी नगरले यसलाई वेवास्ता गरेमा जुनसुकै कदम चाल्न बाध्य हुने पनि थापाले बताए । नगरमा भएका हरेक कामहरुमा आम नगरवासीले गुनासो गरिरहेको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यस नगरमा नेकपाको बहुमत रहेको छ ।
के के छ ज्ञापन पत्रमा ?
भिडियो हेर्नुस