पुर्वमा होलीको रौनक यस्तो, कोरोनाको त्रासले खुल्ला कार्यक्रम भएनन् (तस्बिरहरू)

पुर्वमा होलीको रौनक यस्तो, कोरोनाको त्रासले खुल्ला कार्यक्रम भएनन् (तस्बिरहरू)

प्रवेश बिष्ट

एकापसमा रंग र अबिर दलेर फागु पर्व (होली) उत्साहका साथ मोरङका विभिन्न क्षेत्रसहित तराईका जिल्लाहरुमा भव्य रुपमा मनाइएको छ ।

पहाडी जिल्लामा भने हिजो नै यो पर्व मनाइएको थियोे । सरकारले होली पर्वका लागि सार्वजनिक विदा समेत दिएको थियो ।

कोरोना संक्रमणको जोखिमका कारण सरकारले पोहोर जस्तै यसपाली पनि होलीमा भिडभाड नगर्न आग्रह गरेको थियो । जसका कारण दुई चार वर्षअघिको जस्तो ठूलो भिड र सांगितिक कार्यक्रम भएन । तर पनि ठाउँ ठाउँमा युवा युवतीले भेला भएर होली मनाए ।

रंगहरुको पर्व होलीमा एकापसमा रंग दलेर शुभकामना साटासाट गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भभावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ ।

कोरोना संक्रमणको त्रासका कारण पहिले जस्तो नभए पनि कतिपयले सडकमै निस्केर होली मनाए । सरकारले घरमै बसेर होली मनाउन आग्रह गरेको थियो । तर कतिपय ठाउँमा यूवा युवती तथा केटाकेटीहरुले सडकमै निस्किएर होली मनाए ।

किन मनाइन्छ होली ?

फागुन पूर्णिमाको भोलिपल्ट असत्यमाथि सत्यको विजय भएको खुशीयालीमा यो पर्व मनाइने गरिन्छ । हिन्दूको धार्मिक ग्रन्थमा उल्लेख गरिएका अनुसार, हिरण्यकश्यपले आफ्ना छोरा प्रह्लाद भगवान विष्णुको भक्त भएको कारण उनलाई ज्यान मार्न अनेकौं उपाय गरेका थिए ।

पहाडबाट फाल्ने, हात्तीको खुट्टाबाट कुल्चेर मार्नेलगायतका तरिका असफल भएपछि बहिनी होलीकाको सहयोगमा छोरा प्रह्लादलाई मार्ने खोजेको थियो । होलीकाले कहिले पनि आगोमा नजल्ने बरदान ब्रह्माबाट प्राप्त गरेकी थिइन् ।

सोही बरदानको फाइदा उठाएर होलीकाले बालक प्रह्लादलाई काँखमा राखी चारैतिरबाट दाउराका साथै तीव्र गतिमा जल्ने वस्तुमाथि बसिन् । ती वस्तुमा आगो लगाएपछि भगवान विष्णुको कृपाले प्रह्लादलाई केही भएन र होलीकाको जलेर मृत्यु भएको थियो ।

फागुनपूर्णिमाको दिन यो घटना भएको थियो । मुलुकको पहाडी भेगमा फागुन पूर्णिमाको दिन होली खेलेर बेलुकी होलिका दहन गर्छन् भने तराईमा फागुन पूर्णिमाको बेलुकी होलीका दहन गरेर बिहान होली पर्व मनाउने गरिन्छ ।

तस्बिरहरू :

सम्बन्धित खवर