हुलाकी राजमार्गः विराटनगर–आमबाडी सडक धुलाम्मे बन्दा यात्रामा सकस (फोटो)

हुलाकी राजमार्गः विराटनगर–आमबाडी सडक धुलाम्मे बन्दा यात्रामा सकस (फोटो)

विराटनगर : राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत यतिबेला विराटनगर–रंगेली–आमबाडी सडक निर्माण कार्य जारी छ । सो राजमार्ग अन्तर्गत विराटनगरदेखि झापको सिमाना महादेवासम्म सडक निर्माण कार्य जारी रहेपनि ठेकेदार कम्पनिले सडकमा पानि नछर्कँदा सडकमा ओहरदोहर गर्ने यात्रु र स्थानीय धुलोले हैरान भएका छन् ।

हुलाकी सडक निर्माणका लागि दर्जनौँ स्थानमा कल्भर्ट बनाउन सडक भत्काइएका कारण धुलोले यात्रु र स्थानीय हैरान भएका हुन् । धुलोका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले भत्काइएका सडकमा धुलो उड्न नसक्ने गरि पानि हाल्नुपर्ने भएपनि ठेकेदार कम्पनीले त्यसो नगरेको स्थानीयले गुनासो गरेका छन् ।

निर्माणाधिन सो सडकमा दर्जनौँ ठाउँमा खाल्डाखुल्डी पारिएको र डाइभर्सनकोसमेत उचित व्यवस्थापन नभएको स्थानीयको गुनासो छ । सो सडकबाट यात्रा गर्ने यात्रु बाटोको खाल्टाखुल्टी र धुलोको हैरानी त खेपेकै छन् यता स्थानियहरुको घरमा उडेर पुग्ने धुलोले लत्ता कपडा मैलो हुने र खाना तथा श्वासप्रश्वास समेतको समस्या हुने गरेको मोरङ रतुवामाईका रमेश सिंहले बताए । ‘ठेकेदार कम्पनीले हचुवाको भरमा जताततै खाल्डो खनेको छ । सडकभरी धुलो उडेर कुहिरो लागेजस्तै हुन्छ, विराटनगर आहोरदोहोर गरेर घर पुग्दा जिउभरि धुलो लागेर घरमा कसैले नचिन्ने कि जस्तै हुन्छ । गाउँबाट विराटनगर पुग्दा धुलोले पुरै पुरेजत्तिकै हुन्छ ।’ उनले भने,‘अहिले मोटरसाइकलबाट हिँड्नै गाह्रो छ । धुलोले बाटो नदेखिएर दुर्घटनासमेह बढेको छ । स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ ।’

उनले ठेकेदार कम्पनिले सडकमा पानि हाल्न गरेको लापरवाहीका कारण धुलेले यात्रु र स्थानीय हैरान बन्दै आएको गुनासो गरे । ‘ठेकेदारले सडकमा पानि हाल्नुपर्ने भएपनि त्यस्तो केही गरेको छैन । घर आगनसम्म पनि धुलो उडेर खान बस्न मात्र होइन लत्ताकपडासमेत मैलो हुन्छ ।’ उनले भने,‘ठुलो गाडीमा हिँड्नेलाई त समस्या नहोला तर मोटरसाइकल, पैदल यात्री र हामी स्थानीय जनता यतिबेला धुलोले एकदमै हैरान छौँ । सम्बन्धीत निकायले यसबारे तत्काल ध्यान दिनुपर्छ ।’

हुलाकी राजमार्ग अन्तर्गत विराटनगर केशलीयादेखि झापाको मेचीसम्म २०७६ कात्तिम महिनादेखि काम सुरु भएको थियो । सो सडक अन्तर्गत रिटेनिङवाल बनाउने, माटो सम्याउने, नाला, कल्भर्ट र फुटपाथ निर्माणको काम भइरहेको छ । विराटनगर केशलीयादेखि झापाको मेचीसम्म ६ वटा प्याकेजमा निर्माण सुरु भएको हुलाकी राजमार्ग अन्तर्गत मोरङमा मात्र ४ वटा प्याकेजमा कल्भर्ट, बजार क्षेत्रमा नाला, फुटपाथसहितको सडक निर्माण कार्य जारी छ ।

झापा तर्फ दुइवटा प्याकेजमा १ अर्ब ६१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर २९ किलोमिटर सडक बनिरहेको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका अनुसार रतुवा खोलादेखि डायनियाँसम्म साढे १६ किलोमिटर सडक ७९ करोड ११ लाख ३५ हजार रुपैयाँ र कर्सियादेखि नयाँबजारसम्म साढे १२ किलोमिटर सडक ७८ करोड ४८ लाख ८३ हजार रुपैयाँमा पिएस गजुरमुखि मोतीदान जेभिले ठेक्का पाएको छ ।

त्यसैगरी डायनियाँ पश्चिमदेखि बेतौनापपश्चिसम्म ७ किमि ९१ करोड ३६ लाख २२ हजार रुपैयाँमा कालीका मैनाचुली बेदान्ती जेभिले ठेक्का पाएको छ भने नयाँबजार देखि विराटनगरसम्म श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीलाई ६ किमि सडक ८४ कोरोड रुपैयाँमा ठेक्का लगाइएको छ । तर, चार वटा प्याकेजमा निर्माण भइरहेको सडकमा पानि नहाल्दा यात्रु र स्थानीय हैरानी खेप्न बाध्य छन् ।

           

सम्बन्धित खवर