झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ ।

शिवसताक्षी नगरपालिका ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा २० लाखका दरले जग्गा खरिद गरिएको कम्पनीका अध्यक्ष एवं निवर्तमान संघीय सांसद लालबहादुर सावाले जानकारी दिनुभयो । आयोजनाको कुल लागत ७९ करोड रहेकोमा ६० करोड बैंक कर्जामार्फत स्रोत व्यवस्थापन गरिने उहाँले बताउनुभयो । कम्पनीले एक लाखदेखि माथि जतिसुकै रकम लगानी गर्न इच्छुक लगानीकर्तालाई आह्वान गरेको छ ।

‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत् उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीहरुको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार आगामी वर्षको पुस १५ सम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य लिइएको छ । व्यावसायिक उत्पादन भने २०७८ पुस मसान्तसम्ममा गर्ने लक्ष्य लिइएको सञ्चालक भट्टराईले जानकारी दिनुभयो । यहाँबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणलाई प्रतियुनिट ७।३० रुपैयाँका दरले बिक्री गर्ने कम्पनीको योजना छ ।

यसले वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन गर्नेछ । कम्पनीले यही वर्षको माघ मसान्तसम्ममा विद्युत् खरिद‑बिक्रीसम्बन्धी सम्झौता (पीपीए) गरिसक्ने र चैतको पहिलो सातातिर परियोजनाको ईपीसी ठेक्का दिने जनाएको छ ।

झापामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको र विदेशमा यसको ठूला परियोजना सफलतापूर्वक सञ्चालन भइरहेको देखेपछि झापा इनर्जी कम्पनी स्थापना गरिएको सञ्चालक एवं सहकारी अभियानकर्मी रामचन्द्र उप्रेतीले बताए । कम्पनीले शनिबार दोस्रो वार्षिक साधारणसभा सम्पन्न गर्दै २०७८ मंसिर मसान्तमा आयोजना सम्पन्न गर्ने अठोट गरेको छ ।

सम्बन्धित खवर