सिंहवाहिनी माविले आइतबारबाट शिक्षण सिकाई शुरु गर्ने

सिंहवाहिनी माविले आइतबारबाट शिक्षण सिकाई शुरु गर्ने

पथरी, मोरङको पथरी शनिश्चरे ९ रिङ्गुवास्थित सिंहवाहिनी माध्यमिक विद्यालयले जोड विजोड कक्षाका विद्यार्थीलाइ उपस्थित गराई समूहमा विभाजन गरी दैनिक सिकाई सहजिकरण गर्ने भएको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरुको संयुक्त बैठकले आइतबारबाट स्वास्थ्य सावधानी अपनाएर शिक्षण सिकाई क्रियाकलाप अघि बढाउने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक डिल्लीराम ढकालले जनाउनु भयो ।

नगरको परिपत्र अनुरुप कोरोना भाइरसबाट बच्ने सावधानीका रुपमा विद्यार्थीले मास्क लगाएर साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गरेर कक्षा कोठामा मापदण्ड अनुरुप भौतिक दूरी कायम गरी सिकाई अघि बढाइने उहाँले उल्लेख गर्नुभयो ।

कक्षा १, ३, ५, ७ र ९ लाई आइतबार, मंगलबार, बिहिबार र कक्षा २, ४, ६, ८ र १० लाई सोमबार, बुधबार, शुक्रबार आवश्यक स्वास्थ्य सतर्कता अपनाएर विहान १० बजेबाट नै सिकाई अघि बढाइने भएको हो ।
विद्यालयले विद्यार्थीलाई विद्यालय पठाउदा स्वास्थ्य सावधानी अपनाउन सचेत गराउँदै मास्क लगाएर घरबाट पठाउन अभिभावकहरुसँग अनुरोध समेत गरेको छ ।

कोरोना कहरका कारण ६ महिनासम्म पठनपाठन हुन नसकेपछि शिक्षा मन्त्रालयले निर्देशिका तयार गरी पठनपाठनका केही विषयवस्तु र पाठहरु कटौती गरेर ५ वटा बैकल्पिक विधिमध्येबाट सिकाई अघि बढाउन परिपत्र गरेको छ ।
यसैबीच, नगरका अन्य विद्यालयहरुले पनि बैठक राखेर आफुहरुलाई उपयुक्त बैकल्पिक विधि अपनाएर सिकाई थाल्ने भएका छन् ।

सम्बन्धित खवर