विश्वमा कोरोना भाइरसका कारण ६ लाख ५६ हजारको मृत्यु

विश्वमा कोरोना भाइरसका कारण ६ लाख ५६ हजारको मृत्यु

एजेन्सी : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कुल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । अझै पनि करिब ६६ हजार व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।

कोरोना भाइरस फैलिन नदिन सोमबार विश्वका विभिन्न मुलुकमा कडा नियम घोषणा गरिए पनि कोरोना संक्रमितको संख्या निरन्तर बढेको देखिएको छ । कतिपय मुलुकले समुद्री तट (बीच) बन्द गर्नुका साथै क्वारेन्टिनका नयाँ उपाय घोषणा गर्न थालेका छन् ।

युरोपेली मुलुकले पहिलो चरणमा गरिएका लकडाउनका कारण सिर्जित आर्थिक क्षतिको पुनरुत्थान गर्न होसियारीपूर्वक कदम चाल्न थालेका छन् । यी देशमा पर्यटन क्षेत्र खुला गर्न थालिएको छ, तर कोरोनाको दोस्रो लहर उत्पन्न हुन नदिन विशेष सावधानी अपनाइएको छ ।

स्पेनको पर्यटन उद्योगले नयाँ चुनौतीको सामना गर्नु परेको छ । बेलायत सरकारले स्पेन भ्रमण गर्ने बेलायती हरेक पर्यटकले स्वदेश फर्किएपछि अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम जारी गरेको छ । यसबाट धेरै बेलायती पर्यटक र टुर अपरेटर्सले बेलायतीको भ्रमण रद्द गरेका छन् ।

हङकङमा कोरोना भाइरसको नयाँ संक्रमण शृंखला शुरु भएपछि सार्वजनिक स्थलमा अनिवार्यरुपमा मास्क लगाउन आदेश दिएको छ ।

सम्बन्धित खवर