एजेन्सी – इटालियन ’सिरी ए’ फुटबलमा इन्टर मिलानले जिनोआमाथि शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टर मिलानले जिनोआलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली जिनोआमाथि जित हात पार्दै इन्टर दोस्रो स्थानमा उक्लिएको हो । इन्टरको जितमा रोमेलु लुकाकुले दुई तथा एलेक्सिस सान्चेजले एक गोल गरे । खेलको ३४ औं मिनेटमा लुकाकुको गोलबाट इन्टरले अग्रता बनाएको थियो ।
८२ औं मिनेटमा सब्सिच्युट एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । भिक्टर मोसेसको पासमा गोल गरेका सान्चेज ६४ औं मिनेटमा लोउटारो मार्टिनेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै इन्टर मिलानलाई ३–० को सानदार जित दिलाए ।
जितसँगै इन्टरले लिगको अंक तालिकामा पहिलो स्थानमा रहेको युभेन्टससँगको अंक दूरी ४ मा झारेको छ । युभेन्टसको ८० अंक छ भने इन्टरको ७६ अंक भएको छ ।
यस्तै, शनिबार राति नै भएको अर्को खेलमा नापोलीले सासोउलोलाई २ शून्यले तथा पर्माले ब्रेससियालाई २–१ ले हराएको छ ।