पथरी, पूर्वमा पहिलो पटक मोरङको पथरी शनिश्चरेमा आयोजना भएको अन्नपूर्ण टि २० प्रिमियर लिग क्रिकेट सिजन एकको फाइनल आइतबार हुने भएको छ । २५ गतेबाट सुरु भएको खेलको फाइनल खेल भोली हुने आयोजक टिमका अध्यक्ष अरुण राईले बताए ।
५ वटा टिम सहभागी रहेको खेलमा अक्सन मार्फत खेलाडीहरु अनुवन्धित गरिएको थियो । पहिलो सिजन भएकाले नगरभित्रका टिम मात्रै सहभागी गराइएको छ । फाइनल खेलका लागि आइतबार वडा नं. ७ को सात बाघ र वडा नं. १ को रोयल किङ्ग्स प्रतिस्प्रर्धा गर्दैछन् ।
सुरुबाट नै ४ वटै खेल जितेर अग्र स्थानमा रहँदै आएको सात बाघसंग लिग चरणमा एकवटा खेल हारेर क्वालिफाएरबाट आएको रोयल किङ्ग्स प्रतिस्पर्धाका लागि तयारी आवस्थामा रहेका छन् । सातबाघमा ३ जना अलराउण्ड खेलाडी छन् भने रोयलमा ७ जना अलराउण्ड खेलाडी रहेका छन् ।
बिजेताले ४० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । उपविजेताले १५ हजार नगद र मेडल, प्रमाणपत्र पाउनेछन् । यसका साथै विधागत तर्फ वेस्ट व्याटुसम्यान, वेस्ट बलर, म्यान अफ दि सिरिज, म्यान अफ दि म्याच, वेस्ट क्याच अफ दि टुर्नामेन्ट, उदयीमान खेलाडी लगाएतका पुरस्कारहरु रहेका छन् । विधागत तर्फ नगद १ हजार र ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ ।
यस खेलमा जिल्ला स्तरीय खेल खेलेका अनिस लुइटेल पनि रहेका छन् । सात बाघबाट खेलिरहेका उनि लिगको महंगा खेलाडी समेत हुन् । उनिसंगै केलिन राई पनि सात बाघमा रहेका छन् । संगै फाइनल प्रतिस्पर्धा गरिरहेको रोयलबाट पनि २ जना महंगा खेलाडी दिपेश श्रेष्ठ र राजन बस्नेत रहेका छन् ।
लिगको टाइटल प्रयोजन पथरीमा रहेको अन्नपूर्ण ई. बोर्डिङ स्कुलले गरेको छ । विजेता ट्रफि र ३५ हजार नगद सहित टाइटल प्रयोजन गरेको विद्यालयका प्रिन्सीपल नारायण कट्टेलले जानकारी दिए । यससंगै लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कक्षा १२ सम्मको अध्ययन गर्ने अवस्थाको भएमा छात्रवृत्तिको समेत व्यवस्थापन गरिएको कट्टेलले जानकारी दिए ।
खेलको लागत स्टिमेट २ लाख ६० हजारको रहेको छ । जसमध्ये नगरपालिकाबाट १ लाख, टाइटल प्रायोजकबाट ३५ हजार र अन्य रकम टिम दर्ताबाट, अन्य व्यावसायी, वैदेशिक रोजगारमा रहेकाहरुबाट सहयोग सङ्कलन गरिएको अध्यक्ष राईले बताए ।
नगरमा कहिँ छैन् क्रिकेट खेल मैदान
पथरी शनिश्चरे नगरभरी कतैपनि क्रिकेट खेल मैदान नभएको खेलाडीहरुले गुनासो गरेका छन् । खेल मैदान नभएपछि कानेपोखरीमा पर्ने जिरिखिम्ती खेल मैदानमा प्रिमियर लिग भइरहेको छ । खेलाडी र दर्शकका लागि समेत असहज रहेको मैदानमा पिच समेत राम्रो नभएको अयोजकका उपाध्यक्ष प्रदिप खड्काले बताए । पथरीमा खेल मैदान नहुँदा उर्लाबारी, दमक या बेलबारी पुग्नुपर्ने बाध्यता छ ।
जारी लिगमा पनि ३ जना खेलाडी मध्येबाट अक्सन मार्फत खेलाडी छानिएको थियो । ३ सय खेलाडी समेत अटाउँने मैदान नहुँदा क्रिकेट प्रेमीहरु चिन्तित बनेका छन् । नगर खेलकुद समितिले समेत फुटबल बाहेक अरु खेलमा ध्यान नदिएको खड्काले बताए । आगामी दिनमा नगरले क्रिकेटका लागि मैदान उपलब्ध गराए पथरी शनिश्चरेबाट क्रिकेटका राष्ट्रिय खेलाडी समेत उत्पादन हुने खड्का बताउछन् ।