भानु जयन्तीको अवसर पारेर अर्बिट स्कुलद्वारा खुला राष्ट्रिय अनलाइन रामायण एवं कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । ‘स्रष्टाको सम्मान गरौं, साहित्यको सेवा गरौँ भन्ने मूल नाराका साथ चितवनको भरतपुर महानगरपालिका ५ स्थित अर्बिट स्कुलले रामायणका साथै नेपाली भाषामा कविता वाचन प्रतियोगिता २०७७ सम्पन्न गरेको हो। उक्त रामायण र कविता वाचन प्रतियोगिता यस संस्थाले आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीलाई केन्द्रित गरेर राखेको हो ।
प्रतियोगितामा प्रतियोगिहरुले भानुभक्तद्वारा रचित रामायण तथा कविहरुले आफैँ रचेका कविता वाचन गरेको ३/३ मिनेटको भिडियो अर्बिट स्कुलको आधिकारिक फेसबुक पेजमा राखिएको थियो। नेपाल संस्कृत विश्व विद्यालयका सहप्रध्यापक डा. मति प्रसाद ढकाल, कवि लेखराम सापकोटा, पत्रकार एवं कवि राजेन्द्र ओझा, कवि सुशान्त थापाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रतियोगिताको रामायण वाचन तर्फ महेष संस्कृत गुरुकुल देवघाट तनहुका प्रविण पराजुली प्रथम, वेस्ट पोइन्ट कलेज काठमाडौंका श्रीकृष्ण न्यौपाने द्वितीय, ज्ञानदर्शन ईङ्लिस स्कुल भरतपुरका निश्चल अधिकारी तृतीय बने । यस्तै कविता विधातर्फ खजुरा बाँकेका बिदिर्ण बिवेक प्रथम, ललितपुरका नवराज आचार्य द्वितीय र महेष संस्कृत गुरुकुल देवघाट तनहुका सुरेश गौतम तृतीय बने ।
दुवै विधाका विजेताहरुले प्रथम पुरस्कार २५ सय र द्वितीय पुरस्कार १५ सय सहित प्रमाण–पत्र प्राप्त गरे । कविता विधाका उत्कृष्ट २ वटा कविता फायर वर्ड्स डेलि र प्रदेश दैनिकमा प्रकाशन गरिने आयोजकले जनाएको छ।