नेकपाको वैधानिकता र चुनावचिन्ह ओलीले नेतृत्व गरेको पार्टीसँग रहन्छ : अर्थमन्त्री पौडेल

नेकपाको वैधानिकता र चुनावचिन्ह ओलीले नेतृत्व गरेको पार्टीसँग रहन्छ : अर्थमन्त्री पौडेल

नेपाल सरकारका अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका महासचिव विष्णु पौडेलले नेकपाको वैधानिकता र चुनावचिन्ह ओलीले नेतृत्व गरेको पार्टीसँग रहने बताउनुभएको छ । उहाँले सबैलाई आफ्नो हातमा रहेको सुर्य चिन्ह आत्मविश्वासपूर्वक फहराउन समेत अनुरोध गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘यहाँहरुको आँखामा आँखा जोडेर भन्न चाहन्छु, नेकपाको वैधानिकता र चुनावचिन्ह ओलीले नेतृत्व गरेको पार्टीसँग रहनेछ, आफ्नो हातमा रहेको सुर्य चिन्ह आत्मविश्वासपूर्वक फहराउनुस । ’ बुटबलमा आयोजित पार्टीको जनसभालाई सम्वोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले थप एक कार्यकाल मुलुकको नेतृत्व गर्नुपर्ने अवस्था आएको समेत बताउनुभयो ।

त्यस्तै उहाँले आगामी चुनावबाट ओली नेतृत्वको नेकपाले बहुमत ल्याएर छोड्ने दावी गर्नुभयो । मन्त्री पौडेलले थप्नुभयो,‘केपी ओलीले थप एउटा कार्यकाल प्रधानमन्त्री भएर मुलुकलाई विकास र समाजवादतर्फ लैजानु हुनेछ । हामी सबैले उहाँलाई २७ गतेको निर्वाचनपछि पनि एकपटक नेतृत्व गर्न आग्रह गर्नुपर्ने स्थिति देखा परेको छ ।’

वैशाख महिनामा सम्पन्न हुने निर्वाचनबाट ओली नेतृत्वको नेकपालाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने पौडेलले बताउनुभयो । दुनियाको कुनै तागतले चुनाव रोक्न नसक्ने भन्दै उहाँले जनसभाबाट फर्केपछि गाउँ–गाउँ, टोल–टोलमा चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो ।

सम्बन्धित खवर