राजविराजमा कडा सुरक्षा घेराबीच ओलि समूहको सभा, उपप्रधानमन्त्री पोखरेलसहितका मन्त्रीलाई देखाइयो कालो झण्डा

राजविराजमा कडा सुरक्षा घेराबीच ओलि समूहको सभा, उपप्रधानमन्त्री पोखरेलसहितका मन्त्रीलाई देखाइयो कालो झण्डा

राजविराज, सप्तरीको राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्न राजविराज आएका मन्त्रीहरूलाई कालो झण्डा देखाइएको छ ।

सभाका लागि मंगलबार राजविराज प्रवेश गर्दै गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरूलाई अनेरास्ववियु सप्तरीका विद्यार्थी नेताहरूले अध्यारी पेट्रोल पम्पअघि कालो झण्डा देखाइएका हुन् ।

सभालाई सम्बोधन गर्न उपप्रधानमन्त्री पोखरेल, सहरी विकासमन्त्री प्रभु साह, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, पूर्वमन्त्री रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ, प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश सचिव सुमन प्याकुरेलगायत राजविराज आएका हुन् ।

राजविराजस्थित राजरंगशालामा आयोजना गरिएको कार्यक्रमस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ठूलो संख्यामा परिचालन गरिएको छ । कार्यक्रममा कुनै अप्रिय घटना नहोस् यसका लागि सप्तरी प्रशासनले कार्यक्रम स्थल, आसपास क्षेत्र तथा राजविराज नगरपालिकाको विभिन्न चौक तथा मुख्य बाटोमा पनि प्रहरी परिचालन गरेको छ ।

राजविराज रंगशालामा हुने सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सहरी विकासमन्त्री प्रभु साह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोलगायतले सम्बोधन गर्ने बताइएको छ ।

राजविराज रंगशाला वरपरका घरका छतछतमा सुरक्षाकर्मी राखिएर सुरक्षा कडा पारिएको छ । दाहाल–नेपाल नेतृत्वको नेकपाले विरोध गर्न सक्ने आशंका मा सुरक्षा कडा पारिएको बताइएको छ । सभालाई लक्षित गरी एक हजार सुरक्षाकर्मी परिचालन गरिएको सप्तरीका डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।


सम्बन्धित खवर