निर्मलपोखरीको साना किसान सहकारीमा चोरी र तोडफोड, दुई जना पक्राउ

निर्मलपोखरीको साना किसान सहकारीमा चोरी र तोडफोड, दुई जना पक्राउ

पाेखरा : पोखरा महानगरपालिका वडा नं. २१, निर्मलपोखरी, शिवालयस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा चोरी भएको छ । गत सोमबार जनैपूर्णिमाको राति ११ः२० बजे सहकारी संस्थाको कार्यालय नै फोरेर चोरी भएको संस्थाका उपाध्यक्ष योगेन्द्र सुवेदीले जानकारी दिए ।

उनका अनुसार चोरले चोरी गर्नेक्रममा सहकारीका सात वटा सिसी क्यामेरा, तीन वटा कम्प्युटर फुटाइदिएका छन् । सहकारीमा पाँच लाख रुपैयाँ रहेको भए पनि चोरले एक हजार पाँचसय रुपैयाँमात्र चोरेको उपाध्यक्ष सुवेदीले जानकारी दिए ।

‘पाँच लाख रुपैयाँ सहकारीको सेफमा थियो । सेफ फुटाउन ठूलै प्रयत्न गरिएको पाइयो । तर चोरहरु सफल भएनन्’, उनले भने ।

भुजेल र अधिकारी पक्राउ

सहकारी फोरेर चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरु आज राति १० बजे पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कृस्तिका २१ वर्षीय शिशिर भुजेल र निर्मलपोखरी शिवालयकै २१ वर्षकै सोमनाथ अधिकारी रहेका छन् ।

उनीहरुलाई सहकारीको सिसिटिभि फुटेजका आधारमा पोखराको सभागृहचोकबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।

सहकारीको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमालको नेतृत्वमा बैदाम प्रहरी र छोरेपाटनको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी प्रवक्ता हमालका अनुसार सहकारीको माथिल्लो तलाको ढोका फोरेर चोरहरु भित्र पसेका थिए । उनीहरुले सात वटा सिसि क्यामेरा, दुई वटा दराज, कम्प्युटर फोरेका छन् । उनीहरुले सहकारीको सेफ फुटाउन धेरै प्रयत्न गरेको तर सफल नभएको पाइएको हमालले जानकारी दिए ।

सम्बन्धित खवर