अध्यक्षद्वयवीच भेट : पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरु खोज्ने सहमति

अध्यक्षद्वयवीच भेट : पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरु खोज्ने सहमति

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरु खोज्ने सहमति भएको छ । सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षवीच पुनः छलफल गर्ने सहमति भएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच वार्ता भएको थियो । वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी थिए ।

छलफलमा दुबै समूहका नेताहरु पार्टी एकतालाई बचाउन सहमति देखिएको र दुबैतर्फबाट दुरी एवं आशंका बढाउने क्रियाकलापहरु रोक्न सहमत भएका छन् । छलफलपछि एक नेताले अनलाइनखबरसँग भने, ‘एकापसमा आशंका र दुरी बढाउने क्रियाकलापहरु रोक्ने रहमति भएको छ । र, विगतमा भएका समझदारीहरुका आधारमा पार्टी एकताको आधार तयार पार्न दुबै अध्यक्ष सहमत देखिनुभएको छ ।

यसका लागि सोमबार बिहान स्थायी कमिटीको बैठकअघि पुनः दुई अध्यक्षवीच छलफल हुने एक नेताले बताए ।

पछिल्लो समय नेकपामा विवाद चर्कंदै जाँदा एकापसमा आशंका र दुरी बढ्दै गइरहेको छ । सरकारले पार्टी फुटाउने अध्यादेश ल्याउने हो कि भन्ने प्रचण्ड–माधव पक्षमा अशंका छ भने बहुमतले प्रधानमन्त्रीबाट हठाउने हो कि भन्ने चिन्ता ओली पक्षलाई छ ।

तर, सोमबारको छलफलबाट अब यस्ता आशंका जन्माउने काम नगर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

त्यसैगरी आपसमा दुरी बढाउने गरी सडकमा जुलुस प्रदर्शन र एकअर्कालाई सार्वजनिक गाली गलौज गर्ने कार्यहरु पनि रोक्ने सहमति भएको छलफलमा सहभागी नेताले अनलाइनखबरलाई बताए ।

सहमतिको खाका बनाउन अघोषित कार्यदल

नेकपा स्रोतका अनुसार सोमबार विहान पुनः छलफलमा बस्नुअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर थप गृहकार्य गर्ने सहमति भएको छ । सहमतिको खाका तयार गर्न ओली पक्षबाट बिष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मालाई जिम्मा दिइएको छ ।

स्रोतले भन्यो, दुई अध्यक्ष र ईश्वर कमरेड बाहेक वार्तामा सहभागी दुई–दुईजनाले आज दिनभर र भोलिसम्म गृहकार्य गर्नुहुन्छ । सहमतिको कुनै विन्दू निस्कन सक्छ भनेरै उहाँहरुलाई सबैसँग परामर्श गरेर एउटा खाका बनाउन भनिएको छ । र, भोलि विहान दुई अध्यक्षबीच त्यही आधारमा वार्ता हुन्छ ।’

सम्बन्धित खवर