कोरोना भाईरसबाट नेपालमा बाह्रौँ व्यक्तिको मृत्यु

कोरोना भाईरसबाट नेपालमा बाह्रौँ व्यक्तिको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ।

डोल्पाको जगदुल्ला गाउँपालिका घर भएका ५८ वर्षीय एक पुरूषको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार प्रेस विज्ञप्ति निकालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा १२ पुगेको छ।

सुर्खेतमा बस्दै आएका उनी जेठ १८ गते डोल्पा पुगेपछि उनको आरडीटी परीक्षण गरिएको थियो । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर लगिएका उनको २० गते मृत्यु भयो । मृत्युपछि संकलन गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डा.मंगल रावलले जानकारी दिनुभएको छ ।

मृत्यु भएको दुई दिनपछि उनको स्वाब परीक्षण गर्न प्रतिष्ठानमा पठाइएकोमा शनिबार पोजेटिभ रिपोर्ट आएको हो। मृतक दमका रोगी भएको बताइएको छ ।

उनको दाहसंस्कार भइसकेको छ । दाहसंस्कारमा गाउँले, वडावासी र अरु छिमेकी पनि सहभागी भएको बताइएको छ ।

सम्बन्धित खवर