ताप्लेजुङका पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सम्पन्न

ताप्लेजुङका पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सम्पन्न

ताप्लेजुङ जिल्लाको पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य सम्पन भएको छ । गत वैशाख पहिलो सातादेखि जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य शुरु भई पाँच स्थानीय तहमा सम्पन्न भएर कोभिड–१९को सङ्क्रमणका कारणले गत हप्ता स्थगित भएको छ । पाँच स्थानीय तहमा जम्मा २४ हजार २०४ जनाले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन भएको छ ।

फक्ताङलुङ गाउँपालिकामा चार हजार ६८६ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन ताप्लेजुङका स्रोत व्यक्ति तथा जिल्ला प्रशासन कार्यालयका सीमा प्रशासन अधिकृत सूर्यप्रसाद दाहालले बताउनुभयो । आठराइत्रिवेणी गाउँपालिकामा पाँच हजार २६५ जानको विवरण सङ्कलन भएको छ । त्यस्तै मैवाखोला गाउँपालिकामा चार हजार २८२ र फुङ्लिङ नगरपालिकामा छ हजार ८९५ जनाको विवरण सङ्कलन भएको दाहालले बताउनुभयो ।

मेरिङदेन गाउँपालिकामा छवटा वडा भएकामा १, २ र ३ वडा गरी जम्मा तीन हजार ७७ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको छ । वडा नं ४, ५ र ६ मा विवरण सङ्कलन हुन बाँकी रहेको कम्युटर अपरेटर वसन्त निरौलाले बताउनुभयो । दिन प्रतिदिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि विवरण सङ्कलन स्थगन गर्नुपरेको हो । कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा आएपछि अनुकूल समयमा बाँकी गाउँपालिकामा विवरण सङ्कलन हुने निरौलाले बताउनुभयो । पाथीभरा याङवरक, सिरिजङ्घा, मिक्वाखो र सिदिङ्वा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्न बाँकी रहेको छ । रासस

सम्बन्धित खवर