उर्लाबारीका मेयर फागोले कार्यालयमै सेवाग्राही कुटे, पिडित व्यक्ति नै प्रहरीको नियन्त्रणमा

उर्लाबारीका मेयर फागोले कार्यालयमै सेवाग्राही कुटे, पिडित व्यक्ति नै प्रहरीको नियन्त्रणमा

मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कार्यालयमै सेवाग्राहीलाई निर्घात कुटपिट गरेका छन्।

आफ्नो टहरा निर्माण कार्य नगरपालिकाले रोकेको विषयमा जानकारी लिन सोमबार नगरपालिका पुगेका २ जना सेवाग्राहीलाई मरनासन्न हुनेगरी कुटपिट गरेका हुन् । उर्लाबारी—५ का बिष्णुप्रसाद भण्डारीलाई मेयर फागो, उनका भतिज दुर्गा फागो, स्थानीय ड्राइभर भनिने दीपेन्द्र धिमाल लगायतको समुहले कुटपिट गरेको हो।

भण्डारीको साथमा गएका उर्लाबारी—८ का नारायण बस्नेतलाई पनि मेयर फागोको समुहले मरणासन्न हुने गरी कुटपिट गरेको छ।

गत माघ ४ गतेदेखि बिनाकारण आफ्नो पक्की टहरो निर्माणको काममा अवरोध गरेको भन्दै भण्डारी निर्माण कार्य रोक्नुपर्ने कारण खोज्दै नगरपालिका पुगेका थिए।

भण्डारीले निमित्त प्रशासकीय अधिकृत मुरारी घिमिरेको कार्यकक्षमा पुगेर ‘आफ्नो काममा किन अवरोध गरिएको’ भन्दै जानकारी मागेका थिए।

घिमिरेले ‘यस विषयमा मेयरलाई नै बुझ्नु’ भनेर पन्छिएपछि मेयरको कार्यकक्षतर्फ लाग्दै गर्दा एक्कासी आफूहरूमाथि दुर्गा फागो र ड्राइभर धिमालले जथाभावी प्रहार गरेको पीडित बिष्णु भण्डारीले बताए।

यसपछि कुटपिटलाई नियन्त्रणमा लिनुको साटो मेयर फागोले आफैं जंगिएर भण्डारी र बस्नेतमाथि निरन्तर लात्ती प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

कतिसम्म भने निरन्तर कुटपिट भइरहँदा नगर प्रहरी र अन्य कर्मचारीहरू मुकदर्शक बनेका थिए। केहीँ बेरपछि सेवाग्राही भण्डारी र बस्नेतलाई उल्टै इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ।

मेयरको बचाउ गर्दै नगरपालिकामा आक्रमण गर्न आएको सुचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक कुन्दन देवको भनाई छ।

गत पुस ४ गते उर्लाबारी—५ का प्रवीण बास्तोलाको रहस्यमय मृत्यु प्रकरणलाई साथ दिएको भन्दै मेयर फागोले छिमेकी समेत रहेको आफूसँग शत्रुता साँध्दै आएको भण्डारीको भनाई छ।

सोही घटनालाई न्यायालयसम्म पुर्याउन भुमिका खेलेको भन्दै मेयर फागो नारायण बस्नेतसँग पनि असन्तुष्ट रहेको बताइन्छ।

स्थानीय इन्द्र लामाका अनुसार नियोजित रुपमा टहरो निर्माण रोकेको र कुनै गुनासो आए त्यतिबेलै आक्रमण गर्ने मेयरले तानाबुना रचेका रहेछन्, त्यसै अनुरुप आक्रमण भएको हो। लामाले भने, ‘एउटा नागरिक गुनासो लिएर निकायमा जानै नपाउने, सेवाग्राही पिटिनु पर्ने, हामीले कहाँ न्याय खोज्ने ?’

ब्रेकलिङ्कबाट

सम्बन्धित खवर