साँसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति, ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम

साँसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति, ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण पदमुक्त भएका चार मन्त्रीलाई पुनर्नियुक्त गरेकी छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्ति गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए । उनीहरुलाई नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम नियुक्त गरिएको हो ।

उनीहरुको अपराह्न ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो।

६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन्। उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित नै छ।

सम्बन्धित खवर