पानीको समस्याले होम स्टे संचालनमा कठिनाई

पानीको समस्याले होम स्टे संचालनमा कठिनाई

पोखरा : पोखरा महानगरपालिकाको सिमानामा रहेको रामकोट सामुदायिक होम स्टेको सम्भावना धेरै भएपनि खानेपानीको समस्याको कारण कठिनाई देखिएको संचालकले बताउने गरेका छन् ।

स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिका वडा नं. १, रामकोटमा २०७४ सालदेखि नानी फुपु होमस्टे संचालन गर्दै आउनु भएकी खरीकुमारी गुरुङले होमस्टेको प्रचारप्रसार संगै पाहुनाहरु आउने क्रम बढ्न थालेको भएतापनि पानीको समस्याको कारण धेरै होम स्टे संचालामा कठिनाई भइरहेको बताईन् ।

सोही वडाको जनप्रतिनिधि समेत रहनु भएकी उहाँले बसाइसराईंको कारण उजाड हुन लागेको गाउँ घरबास कार्यक्रम संचालन पछि राम्रो हुन लागे पनि पानीको समस्याले घरवासको भविष्य नभएको जस्तो लाग्ने बताईन् ।

पोखराको पृथ्वीचोक बाट शिद्धार्थ हाइवेको कुभिण्डे सम्म १४ किमि र त्यहाँबाट जम्मा २ किमि पिच बाटोको दुरीमा रहेको रामकोटमा घरबास कार्यक्रम संचालन गर्न सकिन्छ भनेर अभियानको रुपमा लाग्नु भएका रामकोट सामुदायिक होमस्टेका संस्थापक अध्यक्ष अबिलास गुरुङ पनि खरी कुमारी गुरुङको कुरामा सहमत छन् ।

तर कुनै पनि काम नभएको भने होइन भन्दै उनले गण्डकी प्रदेश सरकार आर्थिक सहयोगमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) गण्डकीले होम स्टे संचालकहरुलाई तालिम प्रदान गर्नुको साथै पुर्वाधार विकासका कार्य गरिरहेको छ भने रामकोट, मट्टिखानको कालिकाकोट र नुवाकोटको भैरव थानलाई जोडेर साईकल रुटको विकासको लागि गृहकार्य भइरहको बताए ।

उनले पोखराको नजिकै रहेको दृश्यबलोकनको लागि अत्यन्तै उपयुक्त रामकोटबाट पोखरा बजार, अन्नपुर्ण हिम श्रृङ्खला, स्याङ्जाको फेदीखोला वजार, आरुखर्कको दरबार, नुवाकोटको काला भैरब थान तथा दरबार देख्न सकिने र रामकोट नजिकै रहेका साल्मे डाँडामा निर्माणाधिन गोर्खा स्मारकका कारण पनि रामकोटको भविष्य उज्जल रहेको बताए ।

त्यसै गरी साइला–साइली होम स्टेकी संचालक धना गुरुङले शुक्रबार र शनिबार पाहुना धेरै आउने हुनाले होमस्टे वस्न जाने पाहुनाले पहिलै जानकारी लिएर मात्र आउनु पर्ने बताए । उनले होमस्टे संचालन पछि गाउँमै रोजगारीको सृजना हुनुको साथै उत्पादित वस्तुले बजार पाएको पनि बताईन् ।

अचेल पोखरामा रहेका धेरै संघसंस्थाहरुले आफ्ना नियमित बैठक, साधारण सभा, अधिवेशन तथा भ्रमण होमस्टहरुमा गर्दै आएको पाइन्छ । शनिबार बृहत फेदिखोला पोखरा सम्पर्क समाजले आफ्नो संस्थाको नियमित बैठक रामकोट होमस्टे मै राखेको थियो ।

पहिलो पटक होम स्टे पुगेका पोखराको लेकसाईडमा होटल व्यवसाय गर्दै आएका पर्यटन व्यवसायी घनश्याम अधिकारीले होम स्टे संचालकको आतिथ्यता र वरपरको वातावरणले आफु आकर्षित भएको बताउँदै रामकोटमा होम स्टे सम्भावना प्रचुर रहेकोले मार्केटिङ र प्रचारप्रसारमा वढि जोड दिनु पर्ने सुझाव दिएका थिए ।

रामकोट होम स्टेमा आउने पाहुनाले गाउँको शिरमा रहेको मनोरम दृश्यको साथै भगवती मन्दिर, राधाकृष्ण, शिव मन्दिर दर्शन गर्न सक्नुका साथै नजिकै रहेको साल्मे डाँडाको गोर्खा स्मारकको अवलोकन गर्न पाउँछन् ।

सम्बन्धित खवर