लोकतन्त्र रक्षा गर्न नेपाली कांग्रेसको नेतृत्व आवश्यक : महत

लोकतन्त्र रक्षा गर्न नेपाली कांग्रेसको नेतृत्व आवश्यक : महत

पोखरा : नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले देशमा लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको नेतृत्व आवश्यक भएको बताएका छन् ।

नेपाल आदिवासी जनजाति संघ जिल्ला समिति कास्कीद्वारा विहीबार पोखरामा आयोजित नयाँ वर्ष २०७८ को क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेपाली जनताले ल्याएको लोकतन्त्र कम्युनिष्टका केही सिमित नेताले हरण गर्न लागेको उनले बताए । लोकतन्त्र रक्षाको लागि गाउँगाउँ र बस्ती बस्तीबाट कांग्रेस कार्यकर्ताहरु जुर्मुराउने दिन आएको उनले बताए । नेपालमा कम्युनिष्टहरु टिक्नै नसक्ने उनको भनाई छ । भ्रष्टाचारमा लिप्त हुँदै आफाआफै झगडा गर्ने कम्युनिष्टहरुको बानी भएको उनले बताए ।

नेपालमा कम्युनिष्टहरुले कुरा बेचेर नाफा कमाए तर कांग्रेसले काम वेच्न नजान्दा घाटा सहनु परेको उनको भनाइ छ ।जनताको जनादेश मार्फत नै लोकतन्त्र बचाउन सकिने भन्दै उनले आदिवासी जनजातिहरु एक भएर अगाडि बढ्ने दिन आएको बताए । नेपालमा जनजातिका अधिकारको बारेमा कुरा गर्ने पार्टी कांग्रेस मात्र भएको उनले बताए । कांग्रेसको नीति र नेतृत्वले मात्र देशमा लोकतन्त्रको रक्षा हुने उनको धारणा छ ।

देशमा आर्थिक सम्वृद्धि भनेको धन सम्पत्ति मात्र नभएर संस्कार र संस्कृति पनि सम्वृद्धिको सूचक भएको महत्तले बताए ।
नेपालको संस्कृति कृषिमा आधारित भए पनि पछिल्लो समयमा लोप हुँदै गएको उनको भनाइ छ । आफ्नो संस्कार र सभ्यताको सम्मान गर्न सकेमा देश समुन्वत बन्दै जाने उनले बताए ।

संघका अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री महादेव गुरुङ, संविधान सभा सदस्य शारदा पौडेल, नेपाल महिला संघका केन्द्रीय सदस्य तारा अधिकारी, नेता शुक्रराज शर्मा, प्रदेश सभा सदस्य द्वय विन्दुकुमार थापा, ललितकला गुरुङ, नेतृ सरस्वती गुरुङ, कांग्रेस कास्कीका पूर्व सभापति शोभियत बहादुर अधिकारी, संघका प्रदेश संयोजक जीतबहादुर गुरुङ, कांग्रेस कास्कीका सचिव सुदीप मोहन भट्टराइ, दीवस मान प्रधानाङ्ग, विद्यार्थी नेता विकास थापा, तर्क जोन गुरुङ र सचिव विष्णु कुमार श्रेष्ठले वोलेका थिए ।

सम्बन्धित खवर