प्रचण्ड-नेपाललाई जसपाको प्रश्न – तपाईहरुको पार्टी कुन हो ?

प्रचण्ड-नेपाललाई जसपाको प्रश्न – तपाईहरुको पार्टी कुन हो ?

प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् ।

बिहीबार बिहानै बामदेव गौतमसँगको भेटवार्तापछि पार्टी कार्यालय पेरिसडाँडामा जनता समाजवादी पार्टी (जसपा) को नेताहरुसँग छलफल गरेका छन् ।

छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए ।

बैठकमा नेकपा अध्यक्षद्वय प्रचण्ड–नेपालले राजनीतिक परिस्थिति र सहकार्य गरेर अघि बढ्ने विषयमा बोलेका थिए ।

बैठकमा जसपाको तर्फबाट प्रचण्ड–नेपाललाई पहिलो प्रश्न नै ‘तपाईहरुको कुन पार्टीको हो ?’ भनेर सोधेका थिए । बैठकपछि जसपाका नेता राजेन्द्र महतोले भने, ‘हामीले तपाईहरु कुन पार्टीको हो ? भनेर सोध्यौं । आधिकारिक पार्टी त चाहियो नि ।’

नेकपाको पार्टी आधिकारिकताको विवाद नटुंगिएका कारण जसपाले प्रचण्ड–नेपाललाई यस्तो प्रश्न उठाएका थिए । बैठकमा प्रचण्डले आफूहरु नै आधिकारिक रुपमा नेकपा भएको बताएका थिए ।

बैठकमा विगतमा संविधान संशोधनका सवालमा कांग्रेस, एमाले, माओवादीसित भएका सम्झौता कार्यान्वयन, बन्दी रिहाई लगायतका विषयमा आफ्नो पार्टीको तर्फबाट भनाइ राखिएको नेता महतोले जानकारी दिए ।

प्रचण्ड–नेपालले राखेको प्रस्तावहरुका बारेमा पार्टीमा छलफल गरिने पनि उनले जानकारी दिए ।

सहकार्य गर्ने विषयमा छलफल गर्न बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

सम्बन्धित खवर