चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

चितवन : मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ ।

सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी-अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्याउने लक्ष्यसहित काम सुरु भएको नेपाल आयल निगम (एनओसी)ले जनाएको छ ।

‘अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने त्यस पेट्रोलियम पाइप लाइनलाई अगाडि बढाउनेबारे अध्ययन भइरहेको छ’ नेपाल-भारत पाइप लाइन ज्वाइन्ट अध्ययन ग्रुप नेपालतर्फका संयोजक वीरेन्द्र गोइतले भन्नुभयो, ‘लोथरसम्म पाइप लाइन विस्तार कसरी गर्ने, त्यसमा कति खर्च लाग्नेबारे अध्ययन तथा छलफल भइरहेको छ ।’

मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने तयारी छ ।  यसका लागि नेपाल तथा भारत सरकारबीच आपसी समझदारीपश्चात सर्भे सकिएपछि संयुक्त कार्यदलले डीपीआर कार्ययोजना मोडालिटीसम्बन्धी काम गरिरहेको छ । लोथरमा एक लाख किलोलिटर पेट्रोलियम भण्डारण हुने बताइएको छ ।

यसअघि २०७६ भदौदेखि भारतको मोतिहारीबाट त्यस पाइप लाइनमार्फत अमलेखगञ्जमा रहेको निगमको डिपोमा डिजेल ल्याउने गरेकामा अब एक वर्षभित्र त्यही पाइप लाइनमार्फत पेट्रोल ल्याउने गृहकार्य सुरु भएको एनओसी प्रदेश-२  प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले बताउनुभयो ।

‘निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउने स्वीकृति दिएपछि त्यस काम अगाडि बढाउन भारतीय आयल निगम (आइओसी) सँग यस सम्बन्धमा काम अगाडि बढाउन अनुरोध गरिएको छ’, प्रादेशिक प्रबन्धक रेग्मीले भन्नुभयो ।

आइओसीले भारतको मोतिहारीमा भर्टिकल ट्याङ्क निर्माण गर्ने काम सुरु गरेको छ । यता अमलेखगञ्जमा रहेको एनओसीलेको कार्यालयमा पेट्रोल आपूर्ति गर्नका लागि आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ । त्यस कार्यालय हप्ताभित्र पश्चिमतर्फ रहेको छ बिघा क्षेत्रफलमा रहेको खाली जग्गामा आवश्यक काम हुनेछ भने त्यस जग्गाको नक्सापास, लागत अनुमान तथा माटो परीक्षणसमेत भइसकेको छ ।

आयोजना निर्माणको कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । त्यसपछि बोलपत्र आह्वान गरी निर्माण सुरु गरिने बताइएको छ । अहिले यो पाइपबाट विहारको राजधानी पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजेल आउने गरेको छ ।

मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि ल्याइनेछ । प्रतिघण्टा तीन लाखदेखि चार लाख लिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिनेछन् । पाइप लाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि टयाङ्करबाट गर्ने ढुवानीमा खर्चको बचत हुने, प्राविधिक नोक्सानीको अन्त्य हुने, शुद्धता कायम हुने, चुहावट र मिसावट अन्त्य हुने ‍विश्वास प्रादेशिक प्रमुख रेग्मीले लिइएको बताउनु भएको छ ।

भारतको मोतिहारीबाट रक्सौल अमलेखगञ्जसम्म नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अहिले डिजेल आउने गरेको छ । नेपालको लाइफलाइनको रूपमा रहेको भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म ७०‍.२ किलोमिटर लम्बाइको यो पाइप लाइनबाट पेट्रोल ल्याउने सम्पूर्ण काम पूरा भएपछि प्राविधिक जाँच गरी एक वर्षभित्रै सञ्चालनमा आउने एनओसी अमलेखगञ्ज कार्यालयले जनाएको छ।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भएर सञ्चालनमा आएपछि पश्चिमी तथा उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव समाप्त भएर जाने विश्वास लिइएको छ ।

सम्बन्धित खवर