‘नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटबल कप’ : फाइनलमा भोजपुरको खावा र खोटाङको रतन्छा भिड्दै

‘नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटबल कप’ : फाइनलमा भोजपुरको खावा र खोटाङको रतन्छा भिड्दै

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा जारी ‘नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटबल कप’को फाइनलमा भोजपुरको खावा र खोटाङको रतन्छा भिड्ने भएका छन् । पाँच दिनदेखि जारी अन्तरवडास्तरीय जिल्लाकै ठूलो पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत आज हुने फाइनल खेलमा साकेला गाउँपालिका–२ रतन्छा र टेम्केमयुम गाउँपालिका–५ खावा भिड्ने भएका हुन् ।

नेर्पा स्पोर्टस क्लबको आयोजनामा नेर्पास्थित सन्सारीडाँडा खेल मैदानमा बिहीबार सञ्चालित खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाई ५–१ गोलअन्तरले पराजित गर्दै रतन्छा फाइनलमा पुगेको हो । यस्तै निर्धारित समयमा बराबरी २–२ गोलको स्कोर निस्केपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मालाई ट्राइब्रेकरमा हराउँदै खावाले फाइनलको पक्का गरेको हो ।

खावाले यसअघिको खेलमा पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीलाई ट्राइब्रेकरमै हराउँदै अघि बढेको थियो । खोटाङसहित विभिन्न छिमेकी जिल्लाका २३ वडा सहभागी सेभेन ए साइड प्रथम च्यालेन्ज कप फुटबल प्रतियोगितामा बाक्सिला र सोल्माले सेमी फाइनलिष्टमै चित्त बुझाउनुपरेको छ ।

प्रतियोगिताका प्रथम टोलीले नगद रु एक लाख एक हजार १११ र दोस्रो टोलीले रु ५५ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक वीरेन गुरुङले जनाउनुभयो । प्रतियोगिताको सेमीफाइनलिस्ट दुई टोलीले जनही रु २० हजार १११ नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही रु दुई हजार १०० का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोररलाई रु तीन हजार १०० तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु चार हजार १०० का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजक नेर्पा स्पोर्टस क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजेपछि हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम दिन विविध मनोरञ्जनात्मक कार्यक्रमसहित फाइनल खेल सञ्चालन गर्ने आयोजकको तयारी छ ।

सम्बन्धित खवर