गैँडा तस्करको आरोपति १५ वर्षपछि पक्राउ

गैँडा तस्करको आरोपति १५ वर्षपछि पक्राउ

चितवन : दुर्लभ वन्यजन्तु गैँडा तस्करको आरोप लागेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले १५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका(५ का ४८ वर्षीय शनिचरा महतो रहेका छन् ।

अधिकारीका अनुसार उनलाई निकुञ्ज प्रशासनले यही पुस २७ गते पक्राउ गरेको हो । शनिचारा विरुद्ध चितवन राष्ट्रिय निकुञ्जमा विस २०६२ सालको असोज १२ गते मुद्दा दायर भएको थियो ।

उनीविरुद्ध चितवन राष्ट्रिय निकुञ्जले ६४ सालको पुस २० गते मुद्दा फैसला गर्दै १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवना सुनाएको थियो । मुद्दा दायर र फैसला भए पनि महतो पक्राउ पर्न सकेका थिएनन् । निकुञ्जले मुद्दा फैसला गरेको ठ्याक्कै १५ वर्षपछि उनी पक्राउ परेका हुन् ।

उनी २०६२ सालमा निकुञ्जको भित्री इलाका भालुटापुमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको निकुञ्जले जनाएको छ । उनले भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैँडा मार्ने कार्यमा सहयोग गर्नुका साथै खाग बिक्रीमा संलग्न भएको पाइएको निकुञ्जले जनाएको छ ।

विस २०७२ सालको बैशाखमा सार्वजनिक नतिजा अनुसार नेपालमा ६४५ गैंडा छन् । सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र यस असापासको राष्ट्रिय वन क्षेत्रमा ६०५ गैंडा छन् । तर, पछिल्लो समय गैंडा मर्ने क्रम तीब्र बन्दै गएको छ ।

सम्बन्धित खवर