जुम्लामा कालिज पालन : व्यवसायी बन्न थाले युवा

जुम्लामा कालिज पालन : व्यवसायी बन्न थाले युवा

जुम्ला : ​जुम्लाको गुठीचौर गाउँपालिका-४ मा ठूलो कृषिसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी युवाहरूले व्यावसायिक कालिज फर्म खोलेका छन्‌।

आगामी तीन वर्षभित्र जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिँदै जंगली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको युवाहरूले बताएका छन्‌। युवाहरूले ​महालक्ष्मी कालिज फर्म खोलेका हुन्‌।

​स्वदेशमै स्वरोजगार सृजना गरी देशको आर्थिक विकासमा सहयोग पुराउने उद्देश्यसाथ फार्म खोलिएको संचालक महाकृष्ण पाण्डेले बताए। उनले भने, ‘जुम्लामा लोकल कुखुराकै मूल्यमा कालिजको मासु बिक्री गरी सर्वसाधारणको पहुँचमा पुर्‍याउने लक्ष्य छ, मासु तथा मासुजन्य वस्तुको उत्पादन गरी ग्रामिण स्तरमा रहेको कुपोषण घटाउन उच्च हावापानीमा कालिज उत्पादन गर्न लागिएको हो।’ मासुको गुणस्तर तथा स्वादमा निखार ल्याउने आफूहरूको उद्देश्य रहेको उनले जानकारी दिए।

जुम्लामै कालिजका चल्ला उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको यो फार्म भविष्यमा रिसर्च सेन्टरका रूपमा समेत विकसित गर्ने तयारी रहेको पाण्डेले बताए। कर्णाली प्रदेशको सुर्खेतपछि जुम्लामा १५ लाख रुपैयाँ लगानी गरी फर्म खोलिएको हो। यो फर्म गुठीचौर गाउँपालिका वडा नम्बर ४ बिगारेमा छ।

सरकारले वन जंगलमा पाइने स्थानीय जातको कालिजको शिकार गर्न र पाल्न समेत दिँदैन। तर, विदेशीबाट फरक नस्लका काजिल ल्याएर पाल्न भने अनुमति दिएको छ।

पाण्डेले चिनियाँ रिङनेट जातको कालिज पालन शुरू गरेका हुन्‌। उनको फर्ममा अहिले ४० वटा पोथी र १ सय १० वटा भाले कालिज छन्‌।सरकारबाट अनुमति प्राप्त अन्य जंगली जनावर र पशुपन्छी समेत पाल्ने योजना रहेको उनले जानकारी दिए।

कालिजलाई चिसो क्षेत्र चाहिने र चिसो स्थानमा कालिज पालन प्रतिफलयुक्त हुने भएकाले विशेषज्ञबाट सल्लाह लिई चिसो ठाउँमा फार्म सञ्चालनमा ल्याइएको पाण्डेले बताए।

सम्बन्धित खवर