गुरुङहरूले आज ल्होछार अर्थात् नयाँ वर्ष मनाउँदै

गुरुङहरूले आज ल्होछार अर्थात् नयाँ वर्ष मनाउँदै

काठमाडौं : पुस १५ अर्थात् बुधबार गुरुङहरूले ल्होछार अर्थात् नयाँ वर्ष पनि मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ । यो पटक मुसा वर्गको बिदाइ र नयाँ वर्ग गाईको स्वागत गर्दैछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

तमु (गुरुङ) समुदायले तमु ल्होसार सीमित व्यक्तिमाझ मनाउने भएका छन् । यो चाड हरेक पुस १५ गते मनाउँदछन् । तमु ह्यल छोंजधि (गुरुङ राष्ट्रिय परिषद्) मातहतमा दर्जनौं संस्थाको सहभागितामा टुँडिखेलमा बृहत सांस्कृतिक प्रदर्शनी गर्ने गरिन्थ्यो । तर कोरोना महामारीका कारण यो पटक टुँडिखेलमा तमु ल्होसारको कार्यक्रम हुने छैन ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यस अवसरमा विगत वर्षमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण घरघरमै मनाइने गुरुङ समाजले जनाएको छ ।

सम्बन्धित खवर