एसईईका लागि आवेदन र रजिष्ट्रेशन फारम खुल्यो

एसईईका लागि आवेदन र रजिष्ट्रेशन फारम खुल्यो

 

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम र रजिष्ट्रेशन खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको छ ।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो ।

यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

विद्यार्थीहरुले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि लगायत सम्बन्धित विद्यालयमा बुझाउन समेत बोर्डले आग्रह गरेको छ ।

यस्तै, यो वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीहरुका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ । आउँदो वर्ष परीक्षा दिनका लागि भोलिदेखि माघ २१ गतेसम्म रजिष्ट्रेशन फारम भर्नुपर्ने बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

रजिष्ट्रेशनका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ ।

सम्बन्धित खवर