भोजपुरमा बालीविज्ञान कक्षा सञ्चालनमा

भोजपुरमा बालीविज्ञान कक्षा सञ्चालनमा

भोजपुर : विद्यार्थीलाई प्राविधिक शिक्षा दिने लक्ष्यका साथ हतुवागढी गाउँपालिका केन्द्र घोडेटारमा रहेको सगरथामा माध्यमिक विद्यालयले बालीविज्ञान कक्षा सञ्चालनमा ल्याएको छ ।

माध्यामिक तह कक्षा ९ बाट प्राविधिक तथा व्यावसायिक धारअन्तर्गत बालीविज्ञान विषयको कक्षा शुरु गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीलाई सीपमूलक शिक्षा दिएर व्यावहारिक ज्ञान दिने लक्ष्यले गाउँपालिकामा पहिलोपटक उक्त कक्षा शुरु गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो ।

गाउँपालिकामा कृषिका लागि धेरै उर्वरभूमि रहेकाले यसले कृषि क्षेत्रको आधुनिकीकरणमा टेवा पुग्ने उहाँको भनाइ छ । बालीविज्ञान अध्यापनका लागि आवश्यक प्रशिक्षक र सहप्रशिक्षकको तलब व्यवस्थापन माथिल्लो निकायबाट हुन नसकेमा गाउँपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।

सोही विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा व्यवस्थापन समिति अध्यक्ष ईश्वरमान राईले बालीविज्ञानको अध्ययन–अध्यापनले हतुवाक्षेत्रका विद्यार्थीलाई आवश्यक ज्ञान प्रदान गरी खेतीलाई आधुनिक तथा प्रविधियुक्त बनाउन सहयोग गर्ने धारणा राख्नुभयो ।

विद्यालयका प्रधानाध्यापक हेमराज न्यौपानेले निकै लामो प्रक्रियापछि बालीविज्ञानको अध्यापन शुरु गर्न सम्भव भएको उल्लेख गर्दै यसको नियमित र व्यवस्थित सञ्चालनका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । मकै, कोदो, धान, अदुवा, अलैँची, सुन्तला, बदामलगायत बालीसँगै तरकारी तथा फलफूलको राम्रो उत्पादन हुने माटो र भूगोल भए पनि आवश्यक प्राविधिक ज्ञान, सीप र क्षमताको अभावले गर्दा परम्परागत कृषि प्रणालीमै निर्भर हुनुपरेको गाउँपालिकाको ठहर छ ।

सम्बन्धित खवर