विराटनगरमा नौ महिनापछि विद्यालय खुल्दै

विराटनगरमा नौ महिनापछि विद्यालय खुल्दै

विराटनगर : बन्द भएको ९ महिनापछि पुस २ गतेबाट विराटनगरका सबै शिक्षण संस्थाहरु खुल्ने भएका छन् । नगर शिक्षा समितिको निर्णय अनुसार विद्यालय व्यवस्थापन समिति र संस्थागत स्कूलका सञ्चालकहरु विद्यालय खोल्ने तयारीमा जुटेका छन् ।

अभिभावकहरुसँग अनिवार्य छलफल गरी सहमतिका आधारमा विद्यालय सञ्चालन गर्ने निर्णय नगर शिक्षा समितिले गरेको छ । कुनै अभिभावक आफ्नो बच्चालाई विद्यालय पठाउन तयार नभए अभिभावकको अधिकार सुरक्षित रहनेछ । निर्णय अनुसार अधिकांश विद्यालयहरुले प्रत्यक्ष सम्पर्क तथा भर्चुअल माध्यमबाट छलफल गरिरहेका छन् ।

विराटनगरमा रहेका सामुदायिक र धार्मिक गरी सबै ७६ वटा विद्यालयहरु पुस २ गते बिहीबारका दिनदेखि सञ्चालनमा आउने विराटनगर महानगरपालिकाको नगर शिक्षा समन्वय शाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिनुभयो । संस्थागत विद्यालयहरु पनि सोही दिनबाट सञ्चालनमा आउनेछन् ।

अभिभावक तथा विद्यालय सञ्चालनका लागि अभिभावकहरुबाट विद्यालय खोल्न दवाव आएपछि मंसिर २१ गते बसेको समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको खतिवडाले बताउनुभयो । विद्यालय सञ्चालन गर्दा तीनै तहका सरकारहरुले निर्धारण गरेको स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।
शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचाले तोकेको मापदण्ड बमोजिम विद्यालयको हैशियत अनुसार स्थानीय जनप्रतिनिधिहरुसँग समेत समन्वय गर्न भनिएको छ । विद्यालयहरुले सम्बन्धित वडाका वडाध्यक्षलगायतका जनप्रतिनिधिहरुसँग पनि समन्वय गर्नुपर्नेछ ।

‘अनलाइन तथा अन्य वैकल्पिक माध्यमबाट अध्यापन गराउँदा सबै विद्यार्थीहरु समेटिएनन्,’ प्रमुख खतिवडाले भन्नुभयो, ‘नौ महिनादेखि बन्द रहेको स्कूल सँधै बन्द गर्ने कुरा पनि भएन र विद्यालय खोल्न अभिभावकहरुबाटै दवाव आएपछि सबै बसेर स्कूल खोल्ने निर्णय गरेका हौं ।’ उहाँले विद्यालय सञ्चालन गर्दा आलोपालो माध्यमबाट सञ्चालन गर्नुपर्ने, विद्यालयभित्रै आइसोलेसनको प्रवन्ध गर्नुपर्ने, नियमितरुपमा विद्यालय परिसर र कक्षा कोठाहरु निर्मलीकरण गर्नुपर्ने, दैनिक विद्यार्थीहरुको ज्वरो मापन गर्नुपर्ने, भौतिक दुरी कायम गरेर अध्यापन गराउनुपर्ने जस्ता कार्यढाँचा र मापदण्डहरु कडाईपूर्वक पालना गराइने पनि बताउनुभयो ।

विद्यार्थीहरुले अनिवार्य मास्क लगाउनु पर्ने र सहजरुपमा हातधुने व्यवस्था पनि विद्यालयहरुले मिलाएका छन् । विद्यार्थी संख्याका आधारमा फरक–फरक दिनमा फरक कक्षाहरु सञ्चालन गर्ने वा एकै दिन सिफ्टहरु विभाजन गरेर सञ्चालन गर्ने भन्ने कुरा विद्यालयले नै व्यवस्थित गर्नेछन् ।

स्वास्थ्य मापदण्ड पालना गर्न आवश्यक पर्ने सेनिटाइजर, सेनिटाइजर छर्ने ट्यांकी, दुई–दुई थान पुनप्रयोग गर्न मिल्ने पीपीई सेट आदि ७६ वटै सामुदायिक विद्यालयहरुलाई उपलव्ध गराइसकेको खतिवडाले जानकारी दिनुभयो । निजी विद्यालयहरुले भने ती सबै सामग्रीहरुको बन्दोबस्त आफैंले गर्नुपर्ने निर्णय समितिले गरेको थियो ।

चैत्र ५ गतेबाट बन्द भएको विराटनगर महागरपालिकाका विद्यालयहरु पुस २ गते अर्थात् ९ महिनापछि सञ्चालनमा आउने भएपछि अभिभावक र विद्यार्थीहरुसमेत उत्साहित देखिएको इडेन नेशनल बोर्डिङ स्कुलका प्रिन्सिपल सि.एम. बस्नेतले बताउनुभयो । उहाँले विद्यालय सञ्चालनको वातावरण तयार पार्न अभिभावकहरुसँग छलफल गरिसकेको र अनलाइन कक्षा लिइरहेका विद्यार्थीहरु स्कूल खुल्ने सूचनाबाट उत्साहित पाएको बताउनुभयो ।

सम्बन्धित खवर