पथरी शनिश्चरेका विद्यालय आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय

पथरी शनिश्चरेका विद्यालय आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय

पथरी, कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सतर्कता अपनाउँदै मोरङको पथरी शनिश्चरे नगरका रहेका विद्यालयहरु आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय भएको छ ।

नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले आज पञ्चायत माविमा राखेको सामुदायिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समति अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुको बैठकले सो निर्णय गरेको हो । सबै विद्यालयहरुले आफ्ना अभिभावकसंग छलफल गरी विद्यालय सञ्चालन गर्ने निर्णय भएकाे हाे ।

बैठकले, विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ ले तोके बमोजिमको आलोपालो सिफ्ट लगायतका उपयुक्त ढाँचा अपनाई शिक्षण सिकाई सहजिकरण निर्देशिका २०७७ ले निर्धारण गरेका परिधिभित्र रही जनस्वास्थ्यका न्यूनतम मापदण्ड पुरा गर्ने/गराउने गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

जसका लागि सम्बन्धित विद्यालयले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, सञ्चालक, व्यवस्थापक, बाल क्लब, समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थितीमा उपयुक्त विकल्प सहितको निर्णय गर्नु पर्ने उल्लेख गरिएको छ । उपयुक्त विकल्प सहितको कार्ययोजना सहित नगरको शिक्षा तथा खेलकुद शाखाबाट शैक्षणिक योजना कार्यान्वयनको अनुमति लिई विद्यालय सञ्चालन गराउने निर्णय भएको शिक्षा तथा खेलकुद शाखा प्रमुख उपसचिव शालिग्राम काफ्लेले जनाउनु भयो ।

कार्यक्रममा नगर प्रमुख एवम् नगर शिक्षा समिति संयोजक दिलीपकुमार राईले विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ सहितको सहकार्यमा स्वास्थ्यका मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गर्नु पर्ने अवस्था रहेको बताउनु भयो । अनिवार्य रुपमा मास्क लगाउने, ज्वरो नाप्ने थर्मल गन, हात धुने साबुन, सेनिटाइजरको व्यवस्थापन गरेर पठनपाठन गर्नुपर्ने अवस्था दर्शाउनु भयो । साथै उहाँले नगरपालिकाले प्राप्त गरेका हालसम्मका प्रमुख उपलब्धीहरु जानकारी गराउनु भयो ।
कोरोनाको त्रास भन्दा पनि त्यसको संक्रमणबाट जोगिन बढी स्वास्थ्य सतर्कता अपनाउने हिसावले विद्यार्थी र अभिभावकलाई पनि सचेत बनाएर तत्काललाई आलोपालो प्रणालीमा पठनपाठन अघि बढाउनु पर्ने वक्ताहरुले धारणा राखेका छन् ।

संविधानसभा सदस्य चण्डीप्रसाद राई, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, शिक्षा समितिका तर्फबाट टंक भण्डारी, विद्यालय व्यवस्थापन समितिका तर्फबाट आइतकुमारी तुम्वापोले आफ्नो धारणा राख्नु भयो । त्यसैगरी आफ्नो धारणा राख्नेमा, सामुदायिक विद्यालयका प्रधानाध्यापकका तर्फबाट पदम सापकोटा, शिक्षक अभिभावक संघका तर्फबाट सुरेन्द्र चापागाईं, प्याब्सनका तर्फबाट टीकाप्रसाद दंगाल र एन प्याब्सनका तर्फबाट थीरप्रसाद आचार्य सहित हुनुहुन्छ ।

पञ्चायत माविका प्रधानाध्यपक अर्जुनकुमार बुढाथोकीको अध्यक्षता र शिक्षा तथा खेलकुद शाखाका अधिकृत नविन खुलाल बुढाथोकीको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।

सम्बन्धित खवर