पोखराको अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा हर्जोग र शेर्पा कक्ष

पोखराको अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा हर्जोग र शेर्पा कक्ष

पाेखरा : पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रथम हिमाल आरोही मौरिस हर्जोग र कीर्तिमानी आरोही मिङमा शेर्पा कक्ष स्थापना गरिएको छ।

कक्षमा सन् १९५० मा प्रथम अन्नपूर्ण आरोही मौरिसले आरोहणका अवसरमा खिचेका ३३ तस्वीर तथा कीर्तिमानी आरोही शेर्पाले आरोहणमा प्रयोग गरेका एवं प्राप्त उपलब्धिका सामग्री प्रदर्शन गरिएको छ।

नेपाल पर्वतारोहण संघका पहलमा संकलित तस्वीर र अन्य सामग्री कक्षको शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वाँ जेभी लेगरले संयुक्त रुपमा उद्घाटन गरे।

कार्यक्रममा मन्त्री लम्सालले मौरिसले आजभन्दा ७० वर्षअघि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण सफल आरोहणसँगै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धी प्राप्त भएको बताए।
प्राकृतिक, सांस्कृतिक एवं साहसिक पदयात्राको प्रचूर संभावनायुक्त नेपाललाई मौरिसले विश्वसामु परिचित गराएको बताउँदै उनले उहाँका परिवारले आरोहणका अवसरमा खिचेका तस्वीर उपलब्ध गराएर थप गुन लगाएको उल्लेख गरे।

विश्वव्यापी पैmलिएको कोरोना भाइरसका कारण गण्डकी प्रदेशलाई मात्र १४ करोडभन्दा बढी घाटा भएको बताउँदै उनले सरकारले पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिए।

गण्डकी प्रदेशअन्तर्गत धौलागिरि हिमालमा आजभन्दा ६० वर्षअघि दुर्घटना भएको स्वीस विमानलाई उद्धार गरेर संग्रहालयमा प्रदर्शन गर्ने पहल भइरहेको जानकारी दिँदै उनले त्यसका लागि रु ३ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको बताए। नेपालका लागि फ्रान्सका राजदूत लेगरले फ्रान्सेली मौरिसले गर्नुभएको प्रथम अन्नपूर्ण आरोहणले दुई देशबीच कायम दौत्य सम्बन्ध प्रगाढ बनाएको बताए । संग्रहालयको विकासमा दूतावासबाट सक्दो सहयोग गर्ने विश्वास उनले व्यक्त गरे।

‘नेपाल पर्वतारोहण संघको अनुरोध एवं दूतावासको पहलमा मौरिसको परिवारबाट उक्त तस्वीर उपलब्ध भएको हो’, राजदूत लेगरले भने, ‘मौरिस र शेर्पा कक्ष संग्रहालयको अवलोकनमा आउने पर्यटकका लागि थप आकर्षणको केन्द्र बन्नेछ।’

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले सरकारले कोरोना भाइरसको महामारीलाई शिक्षाका रुपमा लिएर नेपाल भ्रमण वर्षलाई अघि बढाउनुपर्नेमा जोड दिए।

पुर्खाले गरेको योगदानको उच्च कदर गर्दै मौरिस परिवारले अन्नपूर्ण आरोहणका अवसरमा खिचिएका फोटो संग्रहालयलाई उपलब्ध गराएकामा आभार व्यक्त गर्दै लामाले संग्रहालयमा प्रदर्शनका लागि अन्य सामग्री निरन्तर संकलन गर्दै प्रदर्शन गरिने जानकारी दिए।

कार्यक्रममा पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थराज अधिकारी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, कीर्तिमानी आरोही मिङमा शेर्पालगायतले संग्रहालयको विकासमा सबै क्षेत्रको साथ र सहयोगको आवश्यकता औँल्याए ।

त्यसअघि, मन्त्री लम्साल र राजदूत लेगरले संग्रहालयको अवलोकन गरेका थिए। कोरोना भाइरसका कारण आठ महिनाअघिदेखि बन्द संग्रहालय यही मंसीरको ९ गतेदेखि अवलोकनका लागि खुला गरिएको छ।

सम्बन्धित खवर