सिरहाका पत्रकार कृष्णमोहन चौधरीको उपचारको क्रममा निधन

सिरहाका पत्रकार कृष्णमोहन चौधरीको उपचारको क्रममा निधन

राजेन्द्र महतो, लहान

नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्य कृष्णमोहन चौधरीको उपचारको क्रममा मंगलबार बिहान निधन भएको छ ।
सिराहाको सुखीपुर नगरपालिका ८ स्थायी घर भएका ३५ वर्षीय चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान निधन भएको नेपाल पत्रकार महासंघ सिराहा शाखाले जनाएको छ ।

घुँडाको जोर्नी सुन्निएर रगत पिप जमेपछि करिब दुई हप्ता पहिले आर.के. मेडिसिटीमा शल्यक्रिया गर्दा पनि सञ्चो नभएपछि चौधरीलाई ७ कात्तिकमा धरान लगिएको थियो । धरान पुऱ्याए पनि हातखुट्टा र शरीर थप सुन्निन नरोकिएपछि उपचारको क्रममा उनको निधन भएको हो ।

आर.के. मेडिसिटीमै ठीक हुन्छ भन्दै करिब दुई हप्ता रोकेर अवस्था गम्भीर बनेपछि मात्र रेफर गरिएकाले दुःखद निधन भएको भन्दै परिवारजनले गुनासो गरेका छन् ।

चौधरीको निधनप्रति नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता र नेपाल पत्रकार महासंग २ प्रदेश समितिका महासचिव किरण कर्णले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दिवंगत पत्रकार चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

चौधरी मिथिला आवाज साप्ताहिकको कार्यकारी सम्पादक र सलहेश तथा समाद एफएमका संवाददाता रहेका थिए ।
उनका दुई छोरा, एक छोरी र पत्नी रहेका छन् ।

सम्बन्धित खवर