चेन्नाइसँग बैंगलाेर ८ विकेटले पराजित

चेन्नाइसँग बैंगलाेर ८ विकेटले पराजित

एजेन्सी । साविक उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

दुबईमा आइतबार भएको खेलमा चेन्नईले बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष्य चेन्नईले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्र सिंह धोनी १९ रनमा अविजित रहे ।

यस्तै अम्बाती रायडुले ३९ रन जोड्दा फाप डु प्लेसिसले २५ रन बनाए ।

बैंगलोरका क्रिस मोरिस र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एबी डी भिलियर्सले ३९ रन जोडे ।

ओपनर देबदुत पडीक्कलले २२ रन जोड्दा अर्का ओपनर आरोन फिन्चले १५ रन बनाए ।

चेन्नईका साम करणले ३ विकेट लिए । यस्तै दिपक चाहरले तथा मिचेल स्टानरले १ विकेट लिए ।

जितसँगै चेन्नईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले चेन्नईलाई ३७ रनले हराएको थियो ।

चेन्नईले १२ खेलमा ८ अंक जोडेको छ । र, चेन्नई सातौं स्थानमा उक्लिएको छ ।

बैंगलोर भने शीर्ष स्थानमा उक्लन असफल भएको छ । बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खवर