एकैदिनको रिपोर्टमा नगर उपप्रमुख सहित ३८ जनालाई कोरोना

एकैदिनको रिपोर्टमा नगर उपप्रमुख सहित ३८ जनालाई कोरोना

पथरी, मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख सहित नगरका जनप्रतिनिधि, नगर कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार सहित पछिल्लो पटक ३८ जनामा कोरोना भाइरस देखिएको छ ।

कोशी अस्पताल विराटनगरमा ७ दिन अघि पठाइएको स्वाबको आज आएको रिपोर्टमा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, नगर प्रहरी र पत्रकार सहित समुदायका ३८ जनामा कोरोना पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । पछिल्लो पटक १ सय १५ जनाको स्वाबको नमूनामध्ये ३८ जनामा पोजेटिभ देखिएको हो । सोही बेला पठाएको स्वाबको प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहित ९ जनामा पोजेटिभ देखिएको रिपोर्ट यसअघि नै आएको थियो ।

आजको रिपोर्टमा वडा नम्वर १ मा १४ पुरुष र ४ महिला, २ मा ३ पुरुष, ३ मा १ महिला १ पुरुष, ४ मा ४ पुरुष, ५ मा १ महिला, ७ मा १ महिला एक पुरुष, ९ मा ३ महिला १ पुरुष र १० मा २ पुरुष र १ महिलामा संक्रमण देखिएको हो । जसमा कानेपोखरी ठेगाना लेखाएका एक पुरुषमा पनि कोरोना देखिएको छ ।

जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहितमा कोरोना देखिएपछि असोज ३० देखि नगरपालिका, वडा कार्यालय तथा नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र १ नम्वर वडाको आधारभूत स्वास्थ्य केन्द्रको सेवा समेत बन्दकै अवस्थामा रहँदा दशैं विदा सुरु भएको छ ।

नगरमा कोरोना संक्रमण दिनदिनै बढेपछि नगर प्रमुख दिलीपकुमार राईले दशैंतिहार, छैट लगायतका चाडपर्वका बेला झनै बढी स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गर्नुभएको छ । कोरोनाको बढ्दो संक्रमणका कारण भीडभाड नगरी परम्परा धान्ने हिसावले मात्र चाडपर्व मनाउनु पर्ने वाध्यता रहेको सुझाउनु भएको छ । उहाँले अत्यन्तै स्वास्थ्य सावधानी अपनाएर आफुपनि बच्न र अरुलाई पनि बचाउन आग्रह गर्नुभयो ।

दशैंको विदाको समयमा कोरोना जाँचको अवस्था समेत असहज हुने हुँदा भौतिक दूरी कायम गर्दै अनिवार्य रुपमा मास्क लगाउने, साबुनपानीले हात धुने र सेनिटाइजर लगाएर स्वास्थ्य सतर्कता अपनाउन थप आग्रह गर्नुभयो ।

सम्बन्धित खवर