कर्णालीमा थप ११६ जनामा कोरोना सङ्क्रमण

कर्णालीमा थप ११६ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ११६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पिसीआर परीक्षणमा शनिबार ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।

“कर्णालीमा कोरोना सङ्क्रमण पुष्टि हुने यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो”, उहाँले भन्नभयो, “पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको छ ।” यस भन्दा अघिका दिनहरुमा ११४ जनाभन्दा बढी सङ्क्रमितको सङ्ख्या ननाघेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लागत रुपमा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा सुर्खेतमा सबैभन्दा बढी ७९ जना रहेका छन् । त्यस्तै, दैलेखका १४, रुकुपश्चिमका चार, जुम्ला, सल्यान, कालिकोट, हुम्ला र जाजकोटका दुई÷दुई, डोल्पा र मुगुका एक÷एक र अन्य प्रदेशका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।” योसँगै प्रदेशभर कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २६८ पुगेको छ ।

जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराका पाँच जनाको पोजेटिभ रिपोर्टलाई कर्णालीमा समावेश नगरिएको अधिकृत कंडेलले बताउनुभयो । कर्णालीमा अहिलेसम्म ७९ हजार २५७ जनाको पिसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाले जनाएको छ । रासस

सम्बन्धित खवर