ढोरपाटनका बाढीपहिरो पीडितलाई ६१ लाख राहत

ढोरपाटनका बाढीपहिरो पीडितलाई ६१ लाख राहत

                                       फाइल फोटो


गएको भदौ १७ गतेको बाढीपहिरोमा परेर परिवारका सदस्य गुमाएका बाग्लुङको ढोरपाटन नगरपालिकाका पीडितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ । बाढीपहिराले क्षति भएको एक महिनापछि मङ्गलबार मन्त्रालयले जिल्ला प्रशासनमार्फत राहत उपलब्ध गराएको हो ।

बाढीपहिरोमा परेर ज्यान गुमाएका २२ र बेपत्ता १५ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बाग्लुङले राहत रकम प्रदान गरेको हो । एक जना मात्रै मृतक रहेका परिवारलाई दुई लाख रुपैयाँ, एकभन्दा बढी मृतक वा बेपत्ताका परिवारलाई प्रतिव्यक्ति दुई लाखमा एक लाख थप गरेर तीन लाख रुपैयाँ उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै बाढीपहिरोका कारण घरबास गुमाएका २० परिवारलाई तत्कालका लागि १५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको उहाँले बताउनुभयो ।

“जसको घरबास सकियो, अन्य उपाय पनि छैन, उहाँलाई तत्कालका लागि समस्या समाधानका लागि १५ हजार रुपैयाँ दियौँ”, न्यौपानेले भन्नुभयोे, “निकै समस्या भएका परिवारले मात्रै यो रकम पाए, क्षति भएकालाई क्रमशः विधिसम्मत राहत उपलब्ध हुन्छ ।”

राहत रकम लिने सबैभन्दा धेरै बालबालिका छन् । बाढीपहिरोमा आफन्त गुमाएका २३ बालबालिकाले राहत पाएका छन् । उनीहरुको नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखामा खाता खोलेर रकम जम्मा गरिएको छ ।

“वयस्कहरुलाई नगद नै दियौँ, बालबालिकाको रकम दुरुपयोग नहोस् भनेर बैंकमा राखिदियौँ”, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र न्यौपानेले भन्नुभयोे, “बाल बचतमा रहेको उक्त रकम उनीहरुले वयस्क भएपछि प्रयोग गर्न सक्छन् ।”

बचतबाट आउने ब्याज रकमले उनीहरुको शिक्षामा सहयोग पुग्ने उहाँले बताउनुभयो । पहिरोमा एकभन्दा धेरै सदस्य गुमाएका सात परिवार छन् । बाढीपहिराले १ सय २७ घर बगाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार बस्नै नमिल्ने गरी भत्केका सबै घरको सूची गृह मन्त्रालय पठाइएको छ ।

सम्बन्धित खवर