यस्तै शिक्षक सेवा आयोगका अध्यक्ष र एक महिलासहित अन्य दुई सदस्यको नियुक्तिका लागि सिफारिश गर्न लोकसेवा आयोगका अध्यक्षका अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको सिफारिश समिति गठन गर्ने निर्णयसमेत गरेको छ । बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा योगेन्द्रकुमार कार्कीलाई तोक्ने र कार्यकारी निर्देशकमा वरिष्ठ कृषि अर्थ विज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
साउदी अरबको जेद्दामा रहेको राजपत्राङ्कित प्रथम श्रेणी (प्रशासन समूह), सहसचिवस्तरको दरबन्दी चीनस्थित नेपाली महावाणिज्यदूतावास छेन्दुमा स्थानान्तरण गर्ने, राष्ट्रपति कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत २०७७/०७८ का लागि राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौँका लागि सात र ‘डिजास्टर रिकभरी’ केन्द्र हेटौँडाका लागि नौसहित १६ तथा विज्ञापन बोर्डको आर्थिक वर्ष २०७७/०७८ का लागि पाँच अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।
यसैगरी अवैतनिक वाणिज्यदूतसम्बन्धी (पाँचौँ संशोधन) नियमावली, २०३९ मा भएको व्यवस्थाबमोजिम केही अवैतनिक महावाणिज्यदूतको पदावधि थप गरिएको छ । इरानको तेहरानमा कार्यरत अवैतनिक महावाणिज्य दूत शाहरम शान्तियाइ, मलेसियाको सेलेङ्गार शहरमा कार्यरत अवैतनिक वाणिज्यदूत तोयो स्वी लेङ, इण्डोनेसियाको जाकार्तामा कार्यरत अवैतनिक वाणिज्यदूत बल्ली सुपुत्र जनो सती, इजरायलको हाइफा र वीरशेभा शहरमा कार्यरत अवैतनिक वाणिज्यदूत क्रमशः निमरड वर्ग र इयान नीरको पदावधि आगामी चार वर्षका लागि थप गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।
यस्तै अमेरिकाका इलिनोइस, मेरिल्याण्ड र ओहियो शहरमा कार्यरत महावाणिज्यदूत क्रमशः मरभिन ए ब्रस्टिन, प्रेमराजा महत र डा विलियन सी, क्यासेल तथा अमेरिकाकै हवाई र सियाटल शहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत क्रमशः मेरी सी क्यारोल र एसी शेर्पाको अवधि आगामी चार वर्षका लागि थप गर्ने निर्णय गरिएको बताइएको छ ।
यसैगरी बेल्जियमको फ्ल्याण्डर्स क्षेत्रमा इन्ग्रिड सेस्टर्स–ल्युटेनलाई आगामी चार वर्षका लागि अवैतनिक नेपाली वाणिज्यदूतमा नियुक्त गर्ने, ग्रीसको एथेन्स शहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत इम्मानोइल काराभेलाकिसको पदावधि आगामी चार वर्षलाई थप गर्ने र निजलाई महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय भएको छ । यस्तै लेबनानको बेरुत शहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत एलशेख मोहमद वासम गोजायललाई प्रशंसनीय कार्य गर्दै आइरहेकाले महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय भएको छ ।