राजधानी विवाद : प्रदेश ५ को संसदमा प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा तोडफोड

राजधानी विवाद : प्रदेश ५ को संसदमा प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा तोडफोड

बुटवल : स्थायी राजधानी दाङमा राख्‍ने प्रस्ताव प्रदेश सरकारले गरेपछि प्रदेश ५ को संसदमा प्रतिपक्षी दल नेपाली काँग्रेसले तोडफोड गरेको छ ।

सोमबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रतिपक्षी कांग्रेसका सांसदहरुले सभाहलका कुर्सीसहितका फर्निचर तोडफोड गरेका हुन्।

सभामुख पूर्णबहादुर घर्ती मगरले दोस्रो बैठक सुरु गरेलगत्तै रोस्ट्रम घेरेका प्रतिपक्षी कांग्रेससहितका सांसदहरु तोडफोडमा उत्रिएका थिए। सांसदहरुले बैठक कक्षाका कुर्सी उठाउँदै तोडफोड गरेका हुन्। प्रतिपक्षीको तोडफोड र नाराबाजीकाबीच दाङलाई राजधानी कायम गर्नुपर्ने प्रस्ताव प्रदेश सरकारले संसदमा पेश गरेको छ।

काँग्रेस सांसदको विरोधपछि राजधानीको प्रस्तावमा अहिले छलफल भइरहेको छ। तोडफोडकैबीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो ।

बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले कुर्सीले हानेर टेबुल र माइक तोडफोड गरेका हुन्। सबैभन्दा पहिले कांग्रेस सांसद वसिउद्दिन खाले कुर्सी उचालेर टेबुलमा प्रहार गरेका थिए । त्यसपछि कांग्रेसका सांसदहरू रूपन्देहीका अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गरेका हुन्।

सम्बन्धित खवर