पर्यटन दिवसमा फेवामा सयर, सामाजिक दूरी भङ्ग

पर्यटन दिवसमा फेवामा सयर, सामाजिक दूरी भङ्ग

पाेखरा : गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको सिमाङ्कन काम सकेपछि मात्रै रानीवन क्षेत्रमा फुट ट्रेक निर्माणमा लाग्न सकिने बताए । उनले थलिएको पर्यटन क्षेत्र चलायमान बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रम समेत गर्ने आश्वासन दिए ।

४१ औं विश्व पर्यटन दिवस अवसरमा ट्रेकिङ्ग एजेन्टस् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलले आइतबार पोखरामा आयोजना गरेको ‘फेवा फुट टे«क: वस्तुगत अवलोकन’ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले फेवातालको समस्या समाधान नहुँदा फेवातालका अन्य पूर्वाधारका कार्यले गति लिन नसकेको उल्लेख गरे । उनले पोखरालाई गौरवशाली पोखरा बनाउन यस क्षेत्रको प्रकृति र संस्कृतिको संरक्षण गर्दै जानुपर्ने बताए ।

उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री विकास लम्सालले पर्यटन क्षेत्रमा परेको मर्काबारे सरकार गम्भीर रहेको भन्दै यसलाई उकास्न सरकारले छिट्टै प्याकेज ल्याउने आश्वासन दिए । गण्डकीको आधार नै पर्यटन भएकोले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै पर्यटकीय क्षेत्र चलायमान बनाउनुपर्ने उनको जोड थियो । रानीवनमा फुट ट्रेक निर्माण गर्न सके पर्यटकको बसाइँ लम्ब्याउन सकिनुको साथै जंगल, जल, हिमाल र सहरलाई एकै नजरमा हेर्न सकिने बताए ।

प्रदेश सांसद राजीव पहारीले फेवाताल वरिपरिको १४ किमी फुट ट्रेकका लागि प्रदेश सरकारले ७० प्रतिशत लगानी गरे आफूहरुले स्थानीय पहलमा ३० प्रतिशतको लगानीको जिम्मा लिने बताए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कोरोना छ भन्दै केही नगर्नुभन्दा आवश्यक सतर्कता अपनाएर गतिविधि संचालन गर्नुपर्नेमा जोड दिए ।

टान पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले पोखरा घुम्न आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन फुट ट्रेक निर्माणमा बजेट विनियोजित भएपनि काम भने हुन नसकेका कारण सरोकारवालालाई अवलोकन गराएको बताए ।

कोरोना भाइरस (कोभिड–१९) कारण पर्यटकीय क्षेत्र पोखरा ७ महिनादेखि सुनसान छ । केही पर्यटन व्यवसायीले होटल तथा रेष्टुरेन्ट संचालन गरे पनि केही पर्ख र हेरकै अवस्थामा छन् ।

यसैबीचमा परेको पर्यटन दिवसलाई पर्यटन व्यवसायीले फरक ढंगले मनाएका हुन् । उनीहरुले मुख्यमन्त्रीसहित सरोकारवाला निकाय प्रतिनिधि बोलाएर फेवा पारी रानीवनमा समेत फुट ट्रेक बनाउनेबारे प्याडल डुंगासहित तालमा सयर गरेका हुन् ।

आगामी दिनमा सो निर्माण हुन सके पोखरामा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन हुने र पर्यटकको बसाइँ लम्बिने आशा छ । तालको दक्षिणी भेग रानीवनमा फुट ट्रयाक निर्माणमा दबाब दिन पर्यटन व्यवसायीहरुले डुंगा सयर गरी सो रेकी गरेका हुन् ।

कार्यक्रममा करिब १० मोटरबोटमा १०० जना सहभागी थिए । आवश्यक सामाजिक दूरी कायम गरिने भनिए पनि सो भएको पाइएन । टोलीमा मुख्यमन्त्रीसहित, मन्त्री, सांसद, पोखराका मेयर, छिमेकी वडाध्यक्ष, पर्यटन व्यवसायी, पत्रकार लगायतको जम्बो टोली थियो । सरकारले कोरोना संक्रमण महामारी बेला यसको न्यूनीकरणका लागि सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला हुन नपाउने पटक–पटक निर्देशन गरे पनि गण्डकी प्रदेश सरकारकै उच्च व्यक्तिहरुबाट सोको उल्लंघन भएको हो ।

सम्बन्धित खवर